पारा ओलम्पिकमा काजकस्तानकी ५० वर्षीया पौडी खेलाडीलाई स्वर्ण पदक
ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिकमा काजकस्तानकी ५० वर्षीया पौडी खेलाडीले स्वर्ण पदक जितेकी छन् ।
५० वर्षीया जुल्फिया गाबिदुलिनाले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । उनले काजकस्तानलाई पाराओलम्पिकमा इतिहासमै पहिलो पटक स्वर्ण दिलाएकी छन् ।
उनले ४३ दशमलव २२ सेकेन्डमा दुरी पार गरेर नयाँ विश्व कीर्तिमान बनाइन् । खुट्टा नभएकी जुल्फिया यसअघि ह्विलचेयर धाविका थिइन् । उनले ३० वर्षको उमेरपछि मात्र पौडी शुरु गरेकी हुन् ।
यसैबीच पारा ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा कायमै छ । चीनले अहिलेसम्म २० स्वर्ण, १७ रजत र १२ कास्यसहित कूल ४९ पदक जितेको छ ।
त्यसैगरी दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले १२ स्वर्ण, ६ रजत र ९ कास्य गरी २७ पदक जितेको छ भने तेस्रो स्थानमा रहेको उज्वेकिस्तानले ७ स्वर्ण, ६ रजत र १३ कास्यसहित २६ पदक जितेको छ ।
त्यसैगरी तीन स्वर्ण, ८ रजत र ३ कास्यसहित १४ पदक जितेको अमेरिका चौथो, ३ स्वर्ण, ६ रजत र २ कास्य गरी ११ पदक जितेको ब्राजिल पाँचौं र ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकसहित अस्ट्रेलिया छैठौं स्थानमा छ ।