मनाङ, मुस्ताङ र म्याग्दीमा हिमपातमा परेका ४३२ को उद्धार, उन्नाइसको मृत्यु पुष्टि


मनाङ, मुस्ताङ र म्याग्दीमा गत मङ्गलबार र बुधबार भएको हिमपातमा परेका ४३२ जनाको उद्धार गरिएको छ । हिमपातमा परी मुस्ताङ र म्याग्दीमा गरी १९ जनाको मृत्यु भएको थियो । मुस्ताङबाट हिमपातमा परको १७१ जनाको उद्धार गरिएको प्रमुख जिल्ला बाबुराम भण्डारीले जानकारी दिनुभयो । हिमपातमा परेर मृत्यु भएका पाँच नेपाली, तीन इजरायली, तीन पोल्यान्डवासी, एक भारतीय र एक जापानीको शव काठमाडौँ पठाइसकिएको उहाँले जानकारी दिनुभयो । हिमपातमा परेका एक जनाको शव सनाखत हुन नसके पनि परीक्षणका लागि काठमाडौँ पठाइसकिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । मुस्ताङ र डोल्पाको सीमा क्षेत्रमा पर्ने यामाङ भन्ज्याङ र घोक क्षेत्रबाट आज मात्र छ विदेशी र नौ नेपालीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट थाहा भएको छ । त्यस क्षेत्रमा थप नौ नेपाली हराइरहेको बताइएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार म्याग्दी जिल्लामा पदयात्रामा रहेका तीन नेपाली र दुई स्लोभाकियालीको हिमपातका कारण मृत्यु भएको छ । हिमपातमा परेको आठ स्लोभाकियाली, एक भारतीय र एक अमेरिकीको म्याग्दीबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । त्यस जिल्लामा पदयात्राको क्रममा रहेका अन्य पदयात्री भने सुरक्षित रहनुका साथै प्रहरी प्रशासनको निरन्तर सम्पर्कमा रहेकाले मौसममा सुधार आएपछि पदयात्रालाई निरन्तरता दिने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो । मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार बाक्लो हिमपात र हिमपहिरामा परेका २५१ पदयात्रीको उद्धार गरिएको छ । मनाङका विभिन्न क्षेत्रबाट आज मात्र पनि ४९ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये १६२ विदेशी र ८९ स्वदेशी भएको उहाँले बताउनुभयो । हिमपात भएका क्षेत्रमा आज मौसम खराब भएका कारण उद्धार प्रभावकारी बनाउन कठिनाइ भएको बताउँदै उहाँले आइतबार बिहानैबाट उद्धार तथा खोजीसुरु गरिने जानकारी दिनुभयो । माथिल्लो मनाङ, याक खर्क, भारताङ, थोराङटप, तिलिचोलगायत क्षेत्रबाट पदयात्रीको उद्धार गरिएको बताइएको छ । मनाङमा पदयात्रामा रहेका तीन नेपाली, चार क्यानेडियाली, तीन भारतीय र एक जापानी बेपत्ता रहेकामा खोजी भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?