वरिष्ठ कलाकार सन्तोष पन्तमाथि यौन दुव्र्यवहारको आरोप, महिला सुरक्षा गार्डबाट प्रहरीमा उजुरी


santosh_pantवरिष्ठ कलाकार सन्तोष पन्तमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले वरिष्ठ कलाकार पन्तले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजूरी दिएकी छन् ।

केटिएम सेक्युरिटी सर्भिसमा कार्यरत २४ वर्षीया महिलाले केटिएम सेक्यूरीटिका अध्यक्ष रामेश्वर साह र कलाकार पन्तले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी हुन् ।

शुक्रबार मध्यरातमा प्रतिष्ठानको  गल्र्स होस्टेल प्रवेशद्वारमा सुरक्षाका लागि उभिइरहेको बेला आफूलाई पन्तले संवेदनशील अंगमा हात लगेको र व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न सोधेको आरोप ती महिलाले लगाएकी हुन् । कलाकार पन्त केटिएम सेक्युरिटी सर्भिसका ब्राण्ड एम्बेसडर हुन् ।

कलाकार पन्तले सुरक्षा गार्ड महिलामाथि दुव्र्यवहार गर्दा केटीएमका सञ्चालक अध्यक्ष रामेश्वर साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङलगायत पाँच जनाको समूह महिला होस्टलमा पुगेका थिए । प्रतिष्ठानको महिला होस्टलमा बेलुका ११ बजेपछि जोसुकै आए पनि प्रवेश निषेध गरिएको छ । तर, केटिएमकै अध्यक्ष साहले ‘हामी आएपछि केको नियम चाहिन्छ, महिला होस्टलको गेट खोल’ भनेर हप्काएपछि गेट खोल्नु बाध्य भएको पीडित महिलाले बताएकी छन् ।

साहले पनि आफूलाई श्रीमान् भए नभएको, छोराछोरी भए नभएको, केटिएममा काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबड भएको भनेर सोधेको पीडित महिलाले बताइन् ।

साहले नीजि प्रश्न सोधेर हैरान बनाए लगत्तै पन्तले यौन दुव्र्यहार गरेको पीडित महिलाले बताइन् । केटीएम सेक्युरीटि सर्भिसमा १२ महिला सुरक्षाकर्मी कार्यरत छन् ।

स्रोतका अनुसार प्रतिष्ठानमा शुक्रबार राति अबेरसम्म पार्टी चलेको थियो । पार्टीमा सुनसरीका प्रजिअ, प्रतिष्ठानका पदाधिकारीसमेत सामेल थिए । पार्टीमा अत्यधिक मदिरा सेवन गरेका शाह र पन्त भने राति नै डिउटी चेक गर्न भन्दै निस्किएका थिए ।

बीपी प्रतिष्ठानका एक पदाधिकारीले भने साँझ पार्टी भएको स्वीकार गरे पनि घटनाबारे जानकारी नआएको बताए ।
प्रहरीले उजुरीको आधारमा आरोपित पक्षलाई पक्राउ गरी अनुसन्धान गर्ने बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?