गगन थापा भन्छन्, संविधान समयमै दिन दबाब जारी छ युवा सभाषद्को


नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् सभासद् गगनकुमार थापाले माघ ८ गते संविधान जारी गर्न आफूसहित विभिन्न दलका युवा सभासद्ले संविधानसभाका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षीलगायत अन्य दलका नेताहरूलाई सकारात्मक दबाब दिइरहेको बताउनुभएको छ । नेपाली काँग्रेस क्षेत्र नं ४ क्षेत्रीय कार्य समितिले दीपावली, नेपाल संवत् र छठका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले माघ ८ भित्र संविधान जारी गर्नुको विकल्प नभएकाले आफूहरूले त्यसनिम्ति दबाब अभियान सञ्चालन गरेको उल्लेख गर्नु भयो । “माघ ८ गतेभित्र संविधान जारी गर्ने सङ्कल्प पूरा गर्न नेपाली काँग्रेस प्रतिबद्ध छ, त्यसका लागि एनेकपा (माओवादी), नेकपा (एमाले) र मधेसवादी दलका शीर्ष नेताका घर र कार्यालयमा पुगेर सकारात्मक पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । पहिचान र सामथ्र्यसहितको संविधान नेपाली जनताले चाहेका र उनीहरूले स्वीकार गर्नेगरी संविधान ल्याउनुपर्नेमा उहाँको जोड थियो । क्षेत्र नं ४ का सभापति न्हुच्छेनारायण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभासद् भीमसेनदास प्रधान, नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौला र महासमिति सदस्य चिरञ्जीवी तिवारीले कुनै पनि हालतमा माघ ८ गतेभित्र संविधान जारी हुनैपर्ने धारणा राख्नु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?