उपेन्द्रमान सिंहबाट एन्फाको उपाध्यक्षमा उम्मेदवारी घोषणा
अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा सोमबार पत्रकार सम्मलेन गरी सिंहले कात्तिक ८ गते हुने निर्वाचनका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । फुटबलको नेतृत्वमा फुटबल क्षेत्रकै ब्यक्ति रहनुपर्ने र फुटबलको विकासका लागि थुप्रै काम गर्न बाँकी रहेकाले आफूले उम्मेदवारी घोषणा गरेको सिंहको भनाइ छ ।
अध्यक्षका लागि टासी घले, नरेन्द्र श्रेष्ठ र बिज्ञानराज शर्माले उम्मेदवारी घोषणा गरिसकेका छन् । एन्फाका तत्कालिन अध्यक्ष गणेश थापा फिफाको प्रतिबन्धमा परेपछि र उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि दुबै पदका लागि आगामी कात्तिक ८ गते निर्वाचन हुँदैछ ।