खेलाडी हमालको आत्मकथा विमोचन


hamalभारोत्तोलन खेलाडी सुरेन्द्र हमालको आत्मकथामा केन्द्रीत भएर ‘ओलम्पियनः सुरेन्द्र हमाल’ नामक पुस्तक आज विमोचन गरिएको छ ।

क्रियटिभ बुक्सले प्रकाशन गरेको पुस्तकको मंगलबार आयोजित कार्यक्रममा ओलम्पिक खेलाडी सङ्गीना वैद्य, पुष्पराज ओझा, जगदीश प्रधान, अनिता श्रेष्ठ र स्वयम् लेखकले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

सो अबसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यो पुस्तक नयाँ खेलाडीलाई प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

“पहिले खेलाडीले झन्डा मात्र फहराउँथे, अब दस्तावेजीकरण समेत हुने चरणमा पुगेको छ”, उहाँले भन्नुभयो–‘‘यो पुस्तकमा खेलाडीको दुःख र पीडा मात्र होइन, सफलताको कथा पनि छ, यसले खेलकुदलाई पूर्णता दिएको छ ।”

साहित्यकार नयनराज पाण्डेले खेलकुद् क्षेत्र पनि साहित्यमा प्रवेश गरेको उल्लेख गर्दै लेखकले आफ्नो जीवनगाथालाई फिल्मी ढङ्गले उतारेको बताए ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले पुस्तकवाट समग्र खेलकुद क्षेत्र बुझ्न सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेन्डी लामा, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी महासङ्घका महासचिव दीपक श्रेष्ठ लगायतले पुस्तकले खेलक्षेत्रमा नयाँ आयाम थपेको बताउनुभयो ।

लेखक हमालले आफ्नो पुस्तक पुराना खेलाडीको खेलजीवन, दुःखसुख र सङ्घर्षलाई उतार्न खोजेको बताउँदै यसमा भएका सकारात्मक कुराबाट नयाँ खेलाडीले सिक्न सक्ने बताउनुभयो ।

हमालको आत्मकथामा खेलकुद क्षेत्रमा पाएको सफलता, असफलता, पीडा, तराईको जीवनशैलीलगायत समेटिएका छन् । पुस्तकको सहलेखन टिएस ठकुरीले गरेका हुन् भने सम्पादन पत्रकार जनक नेपालले गर्नुभएको छ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?