अन्तर्राष्ट्रिय ह्याण्डबलको लागि खेलाडी छनोट


hand_ballअन्तर्राष्ट्रिय ह्याण्डबल महासङ्घको आयोजनामा बङ्गलादेशको राजधानी ढाकामा हुने मध्य–दक्षिण एसियालीस्तरको आइएचएफ ट्रफी ह्याण्डबल प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष खेलाडीको छनोट प्रक्रिया बुधबार सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासङ्घले हरेक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगितामा विभिन्न नौ राष्ट्रको सहभागिता रहने नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिताको महिलातर्फ १४ खेलाडी छनोट भएका छन् । निशा राई, रमिला बस्नेत, यशोदा ताम्राकार, सङ्गीता श्रेष्ठ, तारादेवी महत, लक्ष्मी राई, सुष्मिता वैद्य, शिला रेग्मी क्षेत्री, रमिता खड्का, आकृति गुरुङ, बबिता श्रेष्ठ, प्रतिमा थापा, आइत लामा र अन्जना मल्ल रहेका छन् ।

महिला टोलीको टिम म्यानेजरमा सङ्घका सदस्य प्रकाशकुमार सुनुवार र प्रशिक्षकमा पर्वत गुरुङ र विन्दाकुमारी महाराजी छन् ।

त्यसैगरी पुुरुषतर्फ पनि समान १४ खेलाडी नै छनोटमा परेका छन् । तेन्जेन लामा, नरेन्द्र विसी, रमेश केसी, आशिष अधिकारी, सचित कार्की, सन्दिप खडका, चन्द्र केसी, सरुण श्रेष्ठ, भुवन शाही, सुजन महर्जन, सुजन मगर, शुधान्सु श्रेष्ठ, मात्रिका राई र राजेश तामाङ टोलीमा रहेका छन् ।

टोलीको म्यानेजरमा सङ्घका उपाध्यक्ष भीमबहादुर केसी, प्रशिक्षकमा हिमाल दाहाल र रमेश सापकोटा रहेका छन् ।

प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म ढाकामा आयोजना हुनेछ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?