२१ वर्षीया युवतीमाथि व्यस्त सडकमै २२ पटक कैची प्रहार गरी हत्या


kaichi_praharभारतको नयाँ दिल्लीस्थित एक व्यस्त सडकमा २१ वर्षीया युवतीको कैची प्रहार गरी हत्या भएको छ । विवाह गर्न नमानेको भन्दै एक युवकले युवतीमाथि कैची प्रहार गरी हत्या गरेका हुन् । अभियुक्तले २२ पटक कैचीको धारले युवतीलाई प्रहार गरी हत्या गरेको बताइएको छ ।

व्यस्त बजारमा अरु मानिसहरु पनि हिँडिरहेका बेला ती अभियुक्तले युवतीमाथि लगातार आक्रमण गरेका हुन् । तर अरु मानिसलेसमेत उनलाई छुटाउने पहल नगरेको बताइएको छ ।

उत्तरी दिल्लीको बुराडी भन्ने ठाउँमा करुणा कुमार नामकी ती युवतीलाई ३४ वर्षीय सुरेन्द्र सिंहले कैची प्रहार गरी हत्या गरेको बताइएको छ । अभियुक्त सिंह डेढ वर्षदेखि ती युवतीको पछि लागेका थिगए । युवती स्थानीय रिचेस स्कुलकी शिक्षिका थिइन् ।

करुणा आफ्नो बहिनी पर्ने नेहासँग विद्यालय जाँदै गर्दा अभियुक्तले बिहान ९ बजे आक्रमण गरेका थिए । भारतीय प्रहरीका अनुसार अभियुक्त सुरेन्द्रले करुणालाई समातेर कैंचीको धारिलो भागले प्रहार गरेका थिए । उसलाई रोक्न एक जना व्यक्ति दौडिएर आएपछि आफूमाथि नै प्रहार हुनसक्ने भयले पछाडि गरेको बताइएको छ ।

अढाई मिनेटभित्र करुणामाथि २२ पटक कैंची प्रहार भएको थियो । उनलाई सिभिल लाइन्सस्थित सुश्रृत ट्रमा सेन्टरमा लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

घटनापछि स्थानीयले अभियुक्तलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।

अभियुक्त सुरेन्द्रले करुणासँग केही समयअघि विवाहको प्रस्ताव राखेका थिए । तर, करुणाले अस्वीकार गरेपछि रिसको झोंकमा उनको हत्या भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?