काठमाडौं म्याराथनमा भूमि र कान्छिले बनाए कीर्तिमान
नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले १०औँ काठमाडौँ म्याराथनको उपाधि जितेका छन् ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः रङ्गशालामै आएर सकिएको दौडअन्तर्गत भूमि पुरुष तथा कान्छी महिलाको फुल म्याराथन (४२.१९५ किलोमिटर)मा आ–आफ्नो प्रतिद्वन्द्वीलाई उछिन्दै पहिलो भए ।
भूमिले नेपाली भूमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्ने क्रममा निर्धारित दूरी दुई घन्टा २० मिनेट ४४ सेकेन्डमा पूरा गरे । यसअघि नेपालमा भएको कुनै पनि म्याराथनमा नेपाली खेलाडीले उक्त समयमा दौड पूरा गरेका थिएनन् ।
पुरुष म्याराथनको राष्ट्रिय कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ । उनले भारतमा भएको तेस्रो दक्षिण एसियाली महासङ्घीय खेलकुद (साफ)मा दुई घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए । यो कीर्तिमान दक्षिण एसियाली खेलकुद (साग)मा अहिलेसम्म वैकुण्ठकै नाममा कायमै छ ।
भूमिको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँ रोड रनर्स क्लब अल्मुनाइका सल्लाहकार एवम् स्प्रिन्टमा सहभागी हुने पहिलो नेपाली ओलम्पियन रघुराज वन्त र काठमाडौँ म्याराथनका मुख्य योजनाकार निलेन्द्रराज श्रेष्ठले बोनसस्वरुप छुट्टै रु एक लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।
नेपाल आर्मीका कृष्ण बस्नेत (दुई घन्टा २१ मिनेट ४६ सेकेन्ड) दोस्रो तथा राजन खत्री (दुई घन्टा २९ मिनेट २२ सेकेन्ड)ले तेस्रो स्थानमा दौड टुङ्ग्याए ।
कान्छीले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ५७ सेकेन्ड समयमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । कान्छीले लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी स्वरुपा खड्काले सिकागो म्याराथन–२०१३ मा बनाएको दुई घन्टा ५७ मिनेट १० सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।
स्वरुपाले २०१४ मा भएको इन्चोन एसियाड र २०१६ मा भारतमा भएको १२औँ सागमा पनि नेपालबाट प्रतिनिधित्व गरेसकेकी छन् । राष्ट्रिय कीर्तिमानबापत कान्छीलाई रोड रनर्स अल्मुनाईले छुट्टै रु ५० हजार पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रो स्पोर्टस्द्वारा आयोजित प्रतियोगितामा आर्मीका सरिता वासी (तीन घन्टा १९ मिनेट ५२ सेकेन्ड) दोस्रो तथा लालकुमारी घर्ती (तीन घन्टा ४४ मिनेट १४ सेकेन्ड) तेस्रो स्थानमा रहे ।
म्याराथन विजेताले रु ५० हजार, उपविजेताले रु २० हजार र तेस्रो हुनेले रु १५ हजार पुरस्कार पाउने छन् । चौथोदेखि दशौँ स्थानमा दौड पूरा गर्नेलाई क्रमशः रु सात, छ, पाँच, चार, तीन, दुई र एक हजार पुरस्कार प्रदान गरिनेछ ।
हाफ म्याराथन (२१.०९७५ किलोमिटर)मा आर्मीको वर्चस्व रह्यो । पुरुष÷महिला दुवैमा आर्मीका खेलाडीले शीर्ष तीन स्थानमाथि कब्जा जमाए ।
पुरुषमा हरिकुमार रिमाल पहिलो भए । उनले निर्धारित दूरी एक घन्टा ८ मिनेट ४७ सेकेन्डमा सिध्याए । ज्ञानप्रसाद भट्टराई (एक घन्टा नौ मिनेट २८.९५ सेकेन्ड) दोस्रो तथा लालबहादुर थापा (एक घन्टा १० मिनेट ३६ सेकेन्ड) तेस्रो बने ।
त्यस्तै महिलामा एक घन्टा २७ मिनेट १९ सेकेन्ड समय खर्चंदै दौड पूरा गरेकी सानुमाया कार्की पहिलो भइन् । पुष्पा भण्डारी (एक घन्टा ३२ मिनेट २३ सेकेन्ड) दोस्रो तथा विन्द्रा देशार श्रेष्ठ (एक घन्टा ३४ मिनेट ४० सेकेन्ड) तेस्रो भए । हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु २० हजार, १३ हजार र सात हजार पुरस्कार प्राप्त गर्नेछन् ।
पुरुष पाँच किलोमिटर खुला दौडमा रामजी बस्नेत पहिलो भए । उनले १९ मिनेट ०३.२७ सेकेन्ड समय खर्चे । टीकाराम कटवाल (१९ मिनेट १३.२८ सेकेन्ड) दोस्रो तथा छत्र दाहाल (१९ मिनेट ३२.४८ सेकेन्ड) तेस्रो भए । खेलाडीत्रय आर्मीका हुन् ।
सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई २२ मिनेट ३५.२४ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । सशस्त्रकी फुलमती राना (२३ मिनेट ३०.०२ सेकेन्ड) दोस्रो तथा काठमाडौँकी सन्तोषी श्रेष्ठ (२५ मिनेट ४०.७७ सेकेन्ड) तेस्रो बने । पहिलो हुनेले १० हजार, दोस्रोले रु छ हजार र तेस्रोले चार हजार पुरस्कार हात पार्ने छन् ।
विद्यालयतर्फ पाँच किलोमिटर छात्र दौडमा अजितकुमार यादवले स्वर्ण जिते । उनले २१ मिनेट १९ सेकेन्ड समय लगाए । राजेन्द्र तामाङ २१ मिनेट ४५ सेकेन्ड समयसाथ दोस्रो तथा जगत नेपाली २२ मिनेट ४० सेकेन्ड समयसाथ तेस्रो भए ।
त्यसै स्पर्धाको छात्रामा हुमी बुढा मगरले दूरी २४ मिनेट ५९.६ सेकेन्डमा तय गर्दै पहिलो बनिन् । सङ्गीता खड्का (२५ मिनेट ४८.३ सेकेन्ड) दोस्रो तथा शर्मिला क्षेत्री (२७ मिनेट २९.३ सेकेन्ड) तेस्रो भए । पहिलोले रु पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार पुरस्कार जिते ।
कुल पुरस्कार राशि रु तीन लाख ८६ हजार रहेको प्रतियोगिताको म्याराथनमा ३१ पुरुष र सात महिला तथा हाफ म्याराथनमा ६६ पुरुष र १७ महिला खेलाडी सहभागी थिए । पाँच किलोमिटरको खुलामा एक हजार २८५ तथा विद्यालयमा एक हजार ४२८ खेलाडीले भाग लिएका थिए । रासस