कोलम्बिया सरकार र वामपन्थी फार्क विद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता


colimbiaकोलम्बिया सरकार र वामपन्थी फार्क विद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ ।

ऐतिहासिक शान्ति सम्झौतासँगै कोलम्बियामा ५२ वर्षदेखि चलेको गृहयुद्ध अन्त्य भएको छ । राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियोन जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा शान्ति झल्काउन सबैले सेतो पहिरन लगाएका थिए भने गोली आकारको कलमले सम्झौतामा हस्ताक्षर गरिएको थियो । हस्ताक्षर कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव बान की मुनसहित ल्याटिन अमेरिकी देशका नेताहरु पनि सहभागी थिए ।

शान्ति सम्झौता लागू भएपछि युरोपियन युनियनले कोलम्बियाको पुनर्निर्माणमा मद्दत गर्ने छ । सम्झौतालगत्तै युरोपियन युनियनले कोलम्बियाको फार्क विद्रोहीलाई चरमपन्थी संगठनको सूचीबाट हटाएको छ ।

शान्ति सम्झौताको हस्ताक्षर कार्यक्रममा फार्क विद्रोहीका नेता तिमोलियोनले सन् १९६४ मा कम्युनिस्ट पार्टीको सशस्त्र समूहको रुपमा उदाएको समूहले अब हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । यो कदममा कसैले पनि शंका नराख्न पनि उहाँले आग्रह गर्नुभयो ।

सम्झौताअनुसार फार्क समूह अब राजनीतिक पार्टीका रुपमा स्थापना हुने छ । शान्ति सम्झौतामाथि आगामी अक्टोबर २ तारिखमा जनमत संग्रह हुने छ । जनमतसंग्रहबाट अनुमोदन भएपछि यो कानुन बन्ने बताइएको छ । आधा शताब्दीभन्दा बढी समय चलेको गृहयुद्धका कारण कोलम्बियामा २ लाख ६० हजार मानिसको ज्यान गएको थियो भने ६० लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?