भारत–पाकिस्तान विवाद उत्कर्षमा, पाकिस्तानबाट राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान
भारत प्रशासित कास्मिर क्षेत्रमा बढ्दो तनावका बीच पाकिस्तानले राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान छ ।
भारत–पाकिस्तान नियन्त्रण रेखामा भारतले गरेको सैन्य कारबाही अर्थात् सर्जिकल स्ट्राइक्सपछि दुवै देशबीच बढेको तनावलाई मध्यनजर गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको हो ।
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा कास्मिरमा भारतको अत्याचारका बारेमा छलफल गर्न आगामी मंगलबार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाइएको उल्लेख छ ।
सुरक्षा समितिको बैठकमा चारवटै प्रान्तका मुख्यमन्त्रीलाई बोलाइएको छ । यस्तै आगामी बुधबार नै संसद्को संयुक्त सत्र पनि आह्वान गरिएको छ ।
भारतले गत बुधबार राति नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक्स गरेको दाबी गरे पनि पाकिस्तानले त्यसको खण्डन गरेको छ । पाकिस्तानी भूमिमा आएर कुनै पनि कारबाही गरे त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी उसले दिएको छ ।