मालपोत कार्यालयका प्रमुख नै ४० हजार घुससहित पक्राउ


ghushaya_karmachariअख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्साललाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको घुस रकमसहित अख्तियारको टोलीले लम्साललाई बुधबार पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाको प्रमुख रवीन्द्रप्रसाद शर्मा नेतृत्वको टोलीले लम्साललाई ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । प्रमुख मालपोत अधिकृत लम्सालले सिरहा नगरपालिका–१३ मल्हनीया गम्हरीयाका दिपु साहसँग ४० हजार घुस रकम लिएका थिए ।

मालपोतका कर्मचारीको लापरबाहीले हराएको आफ्नो एक कट्ठा जग्गा खोजि दिन साहले पटकपटक धाएका थिए । मालपोत, नापी, जिल्ला प्रशासन कार्यालयमा पाँच वर्षदेखि धाए पनि सुनुवाई नभएको गुनासो साहले गरेका छन् । मालपोतका कर्मचारीले घुस माग्दै उनको काममा आलटाल गर्दै आएका थिए । पीडित साहसँग मालपोतका कर्मचारीहरुले पटकपटक घुस मागेका थिए । कसैले १ लाख रुपैयाँ मागेका थिए भने कसैले ३० हजार रुपैयाँ माग गर्दै आएको उनले बताए ।

मालपोत कार्यालयका नायव सुब्बा महारुद्र यादवले जग्गा खोज्न २५ हजार रुपैयाँ माग गरेको अडियो रेकर्डसमेत साहले सुनाए । उनले घुस मागेको अडियो रेकर्ड प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरलाई समेत सुनाएर न्यायको लागि याचना गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी मानन्धरले तत्काल फोन गरेर मालपोत प्रमुख लम्साललाई सेवाग्राहीसँग घुस माग्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए । तर, मालपोत प्रमुख लम्सालले घुस माग्ने नायव सुब्बा यादवलाई निजामति कर्मचारी दिवसको अबसरमा स्थानीय रमझम होटेलमा भव्य कार्यक्रम गरेर कार्यालयको उत्कृष्ट कर्मचारीको उपाधिसहित नगद ५ हजार, प्रमाण पत्र दिएर पुरस्कृत गरेका थिए ।

साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीमा नायव सुब्बा यादवले घुस मागेको अडियो रेकर्डसहित उजुरी दिएको बताए । साहले अन्ततः मालपोत प्रमुख लम्साललाई कति रकम लिएर जग्गा खाजिदिने भनी कुरो गरेपछि तत्काल माग गरेको १७ हजार बुझाए । तर पछि थप रकम माग गरेपछि अख्तियारसँगको सेटिङमा ४० हजार बुझाउँदा प्रमुख लम्साल पक्राउ परेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?