हतियार लिएर कोही पनि जंगल जाने अवस्था नभएको प्रधानमन्त्री कोइरालाको भनाई
प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विवादीत विषयमा सहमति जुटाउन अधिकतम प्रयास भइरहेको बताउनुभएको छ । उहाँले प्रतिकूल अवस्थामा बिपीले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश आउनुभएको र गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सशस्त्र द्वन्द्वबाट लोकतन्त्रको मूलधारमा ल्याएर शान्ति प्रक्रियासमेत सम्भव भएको स्मरण गर्दै सबैलाई मिलाएर अहिले पनि दलहरूबीच सहमतिबाटै निर्धारित समयमै संविधान जारी गर्नुपर्ने उल्लेख गर्नु भयो । सहिद सरोज कोइरालाको ४१औं स्मृति दिवसको अवसरमा सहिद सरोज कोइराला स्मृति मेमोरियल ट्रस्टद्वारा आज राजधानीमा आयोजित ‘लोकतान्त्रिक संविधान निर्माणका चुनौतीहरू’ विषयक गोष्ठीमा प्रधानमन्त्री कोइरालाले सो धारणा व्यक्त गर्नुभएको हो । “मुलुकका सबै क्षेत्र र वर्गका मानिसको मात्र होइन चीन, भारत, अमेरिका, युरोपेली सङ्घलगायत अन्तर्राष्ट्रिय समुदाय सबैको चिन्ता छ कि बेलैमा संविधान बनाएर नेपालमा लोकतन्त्र, शान्ति र विकास दिगो रूपमा अघि बढोस्,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो । उहाँले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सहमति नभए दबाबका लागि शान्तिपूर्ण आन्दोलनमा जान्छु भन्नुभएको कुराको स्मरण गर्दै दबाब दिने नाममा आन्दोलनमा विचलन आए के गर्नुहुन्छ भन्ने प्रश्न गर्नुभयो । “अब बन्दुक लिएर जङ्गल पस्ने अवस्था छैन वार्ता, सहमति, एकता र सहकार्यद्वारा निर्धारित समयमै संविधान बनाउनुपर्छ मलाई त्यो सम्भव छ भन्ने विश्वास छ,”–प्रधानमन्त्री कोइरालाले भन्नुभयो । उहाँले सरोज कोइराला लोकतान्त्रिक मूल्य मान्यता र सङ्घर्षशील व्यक्तित्व हुनुभएको स्मरण गर्दै उहाँको नाममा सडकको नामाकरण गर्ने र शालिक बनाउने कुरामा आफूले सहयोग गर्ने बताउनुभयो । पूर्व सभामुख दमननाथ ढुङ्गानाले कम्युनिष्ट भनेको पानीको फोका भएको धारणा राख्दै माओवादीलाई मात्र नहेरी जनतालाई हेरेर विगतका सम्झौताको पालना गरेर संविधान बनाउनुपर्छ भन्नुभयो । उहाँले सरोज कोइराला सम्झौता होइन सङ्घर्षका अथक योद्वा हुनुभएकाले पार्टीलाई सधैँ नीति, कार्यक्रम र निष्ठाले जीवन्त राख्ने काम गर्नुभएको स्मरण गर्नुभयो । अर्का पूर्व सभामुख तारानाथ रानाभाटले विभिन्न वहानामा जनतालाई झुक्याउने र सङ्क्रमणकाललाई लम्बाउने काम भएर फेरि पनि समयावधि थपेर संविधान निर्माणको कामलाई अल्झाउन र विगतको चारवर्षको खेलको पुनरावृत्ति गर्न हुँदैन भन्नुभयो । वरिष्ठ पत्रकार हरिहर विरहीले अहिले बिपी, गणेशमान जस्ता नेतालाई बिर्सने तथा सूवर्णशमशेर जस्ता नेताको नाम कतै नलिइने परिवेशमा सरोज कोइरालालाई सम्झना गर्नु ठूलो काम हो भन्दै कोइरालाको सम्झनामा सडकको नामाकरण र सालिक बनाउन सकिए युवापुस्तामा लोकतन्त्र एवम् सङ्घर्षप्रति चेतना अभिवृद्वि हुन्छ भन्नुभयो । ट्रष्टका अध्यक्ष शिव लम्सालको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष डिआर पन्तले सरोज कोइरालाको सङ्घर्षमय व्यक्तित्व र ट्रष्ट स्थापनाको लक्ष्यबारे प्रकाश पार्नुभएको थियो ।