सार्क सम्मेलनको निम्ता दिन परराष्ट्रमन्त्री नयाँदिल्लीमा
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणापत्र लिएर परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । मन्त्री पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीसँग शिष्टाचार भेट गरी प्रधानमन्त्री कोइरालाको निमन्त्रणापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्कको आगामी शिखर सम्मेलन मङ्सिर १० र ११ गते काठमाडौँमा हुँदै छ । भ्रमणका क्रममा मन्त्री पाण्डेले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटी क्षेत्रीय सहयोग, द्विपक्षीय हित र आपसी चासोका विषयमा महत्वपूर्ण छलफल गर्ने जनाइएको छ । यस्तै मन्त्री पाण्डेले यही कात्तिक ४ र ५ गते अफगानिस्तानको भ्रमण गरी राष्ट्रपति असरफ घानीलार्ई पनि सम्मेलनको निमन्त्रणापत्र प्रदान गर्ने मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मन्त्री पाण्डेले अफगानिस्तानका समकक्षी जातत अहमद ओस्मानीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी परराष्ट्रमन्त्री पाण्डेले कात्तिक ६ र ७ गतेको भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग भेटी निमन्त्रणापत्र हस्तान्तरण गर्ने र सकमक्षी सरताज एजिजसँग भेट्नु हुनेछ । यसअघि मन्त्री पाण्डेले श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश र भुटानी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटी निमन्त्रणापत्र हस्तान्तरण गरिसक्नु भएको छ ।