कोइरालासँग युरोपेली सङ्घका आयुक्त एण्ड्रिस पाइवल्सको भेट
प्रधानमन्त्री सुशील कोइरालासँग युरोपेली सङ्घका विकास आयुक्त एण्ड्रिज पाइवल्सले अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल र युरोपेली सङ्घको सम्बन्ध, युरोपेली सङ्घले नेपाललाई गरेको विकास सहयोग, प्रधानमन्त्री कोइरालाको हालै यूरोप भ्रमण, संविधान निर्माण प्रक्रिया, स्थानीय निर्वाचन, स्रहश्राब्दी विकास लक्ष्य र नेपालको प्रगतिका सम्बन्धमा केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी निर्वाह गरिरहेको यस अवस्थामा पनि नेपाल शान्ति, स्थायित्व, लोकतन्त्रको सुदृढीकरण र विकासका प्रयासलाई एक साथ अघि बढाएको बताउनुभएको थियो । उहाँले नेपालले पूर्वनिर्धारित समयमा संविधान हासिल गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रधानमन्त्री कोइरालाले विगतमा माओवादी लडाकूको समायोजन र हतियार व्यवस्थापन जस्ता जटिल कार्य पनि सम्पन्न भएकाले पार्टीबीच सामान्य मतभेद देखिए पनि समयमा नै संविधान आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले नेपालमा सङ्घीयता, लोकतन्त्र, समोवशीता र गणतन्त्र जस्ता ठूला उपलब्धि एकसाथ प्राप्त गर्ने ऐतिहासिक परिवर्तन भएको बताउँदै यसलाई संविधानमा लिपिबद्ध गरेपछि नेपालले विकासमा फड्को मार्ने चर्चा गर्नु भयो । उहाँले नेपालको राजनीतिक अवस्था र संविधान निर्माणप्रति छिमेकी मुलुक भारत, चीनसहित युरोपेली सङ्घका मुलुक र अमेरिका जस्ता मुलुकले राखेको चिन्तालाई आफूले सकारात्मक रूपमा लिएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले स्थानीय निर्वाचन अपरिहार्य भएता पनि राजनीतिक सहमति कायम हुन सकेर समयमा गर्न नसकिएको बताउनुभयो । वार्तामा पाइवल्सले युरोपेली सङ्घले नेपाललाई आगामी ६ वर्षका लागि (सन् २०१४ देखि २०२०सम्म) दिने सहयोग रकममा यस अगाडिको भन्दा तेब्बर पु¥याएको बताउनुभएको थियो । उहाँले गरिबीविरुद्धको लडाईका साथै स्रहश्राब्दी विकास लक्ष्य हासिल गर्न र कानुनी सुधारमा नेपालले गरेको प्रगतिको प्रशंसा पनि गर्नुभएको थियो । सङ्घले सन् २००७ देखि २०१३ सम्म ११४ मिलियन यूरो सहयोग गरेको थियो । युरोपेली सङ्घले नेपालको विकास सहयोगमा लिने भावी नीति र कार्यक्रमको बारेमा जानकारी लिन शनिबार नेपाल आइपुग्नुभएका पाइवल्सले राष्ट्रपति डा रामवरण यादव, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, अर्थमन्त्री डा रामशरण महत, सार्क महासचिव अर्जुनबहादुर थापासँग भेटघाट गर्नुका साथै सङ्घको सहयोगमा सञ्चालित कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम पनि छ । भेटका अवसरमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईको पनि उपस्थिति थियो