नेपाल एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट
नेपाल एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।
आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई एसिया कपमा खेल्ने अवसर जुटेको हो । प्रतियोगिताको उपविजेता बनेको नेपाली टोलीले शनिबार चीनलाई ४ विकेटले हराउँदै एशिया कप क्रिकेटको यात्रा तय गरेको हो ।
एसिया कप आगामी नोभेम्बर र डिसेम्बरमा थाइल्यान्डमा हुने छ । त्यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् । त्यसैले विश्वकपको एसियाली छनोटमा दोस्रो भए पनि नेपालले खेल्ने अवसर पाएको हो ।
थाइल्यान्ड १० अंक सहित एसियाली छनोटको पहिलो स्थानमा रहेर कोलम्बोमा हुने ग्लोबल क्वालिफायरमा छनोट भएको छ । नेपालले ३ जित र ३ हारसँगै ६ अंक जोड्यो र दोस्रो भयो ।
शनिबार भएको हङकङ र थाइल्याण्डबीचको खेलमा थाइल्यान्डले आयोजक हङकङलाई ७ विकेटले हरायो । त्यसमा हङकङ विजयी भएको भए एसिया कप खेल्ने टिमको टुंगो रनरेटको आधारमा हुने थियो । यसअघि शनिबारै भएको पहिलो खेलमा नेपालले चीनलाई ४ विकेटले हराएर २ अंक बटुल्न सफल भएको थियो । हङकङ र चीनले ४÷४ अंक मात्र जोडेका थिए ।