गोरखाको लाप्राकमा विद्यालय बनाउन फन्डरेजिंग डिनर, १० हजार डलर सहयोग
भूकम्पको केन्द्रविन्दू नजिक गोरखाको लाप्राकमा बनाउन लागिएको विद्यालय भवनका लागि सिड्नीमा फन्डरेजिंग डिनर सम्पन्न भएको छ । स्थानीय ह्यारिसपार्कमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियाको राजनीतिक दलका नेताहरु उपस्थित थिए । उनीहरुले करिब १० हजार डलर विद्यालय निर्माणका लागि सहयोग गरेको कार्यक्रमका संयोजक गणेश केसीले बताएका छन् । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पाण्डे, न्यूसाउथवेल्सका अवैतनिक महावाणिज्यदुत दिपक खड्कापनि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नेपालमै पुगेर आएका लेबर पार्टीका सिनेटर श्याम डेष्टियारीसहितको टोलीले करिब १० हजारको चेक हस्तान्तरण गरेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले एनआरएनले बनाउन लागेको एक हजार घरसँगै त्यहाँको विद्यालय निर्माणका लागि पनि सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताए । कार्यक्रमका संयोजक केसीले अष्ट्रेलियाको राजनीतिक तहमा नेपालको बारेमा जानकारी बढाउँदै लैजाने उद्देश्य अनुरुप यस किसिमको कार्यक्रम आयोजना गरिएको बताएका छन् ।