विद्यार्थीले मागेजस्तो निर्वाचन गर्न नसकिने हङकङका कार्यकारी नेताको प्रतिक्रिया
हङकङका कार्यकारी नेताले आन्दोलनरत विद्यार्थीहरुले माग गरेजस्तै त्यहाँ स्वतन्त्र निर्वाचनको कुरा असम्भव रहेको बताउनुभएको छ । उहाँले अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नललाई दिनुभएको अन्तरवार्तामा सो भनाई राख्नुभएको हो । हङकङ सरकारका कार्यकारी नेता लियुङ चुङ यिङले यदि उम्मेदवारहरु सार्वजनिक रुपमा मनोनित गरिने हो भने यसले देशको सबै भूभाग नै राजनीतिबाट प्रभावित हुने धारणा राख्नभएको हो । सो अन्तरवार्तामा उहाँले भन्नुभएको छ– निर्वाचनमा जोड घटाउको काम हुन्छ र यदि यसरी जोड घटाउले मात्र राजनीति गर्ने हो भने त्यहाँका अधिकांश गरिब नागरिकका बारेमा सोचिदिने कोही हुनेछैन । उता करिब तीन हप्तायतादेखि जारी रहेको विरोध प्रदर्शनका क्रममा झडप बढ्दै गएपछि सरकारले शनिबार वार्ता गर्ने घोषणा गरेको हो । प्राप्त समाचारअनुसार सरकारले मङ्गलबारका लागि आन्दोलनकारी विद्यार्थीसँग वार्ता गर्ने जनाएको थियो । हङकङ फेडरेसन अफ स्टुडेन्ट गठन गरी त्यहाँका विद्यार्थीहरुले विगत करिब तीन हप्तादेखि सो आन्दोलन जारी राखेका छन् । उनीहरुले प्रजातन्त्रको मागगरी सो आन्दोलन जारी राखेकोले सरकारले त्यसलाई स्वीकार गरेको थिएन । हङकङका अर्का नेता लियुङले आगामी मङ्गलबार सो वार्ताका लागि सरकारले तयारी गरिहेको बारेमा शनिबार नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको समाचारमा उल्लेख छ । सो वार्ता हङकङको हालको संविधानको सुधारका बारेमा केन्द्रित हुने जानकारी पनि सो क्रममा दिइएको छ । आन्दोलनकारी विद्यार्थीले प्रजातन्त्रको मागगरी आन्दोलन जारी राखेका छन् । उता आन्दोलनकारीहरुले भने नेता लियुङको राजिनामाको माग चीनसँग गरिरहेका छन् । उनीहरुले हङकङलाई पूर्ण प्रजातन्त्र दिइनुपर्नेमा जोड दिएका छन् । आगामी सन् २०१७ मा हुन लागेको आमनिर्वाचनमा त्यहाँका नागरिकले पूर्ण प्रजातन्त्रको उपयोग गरी निर्वाचन हुनुपर्ने माग गरेका छन् । चिनियाँ सरकारले सो निर्वाचनमा चिनियाँ कम्युनिष्ट पार्टीप्रति झुकाब राख्ने व्यक्तिमात्र उम्मेदवार बन्न पाउनुपर्ने भनेको छ भने त्यसलाई हङकङका नेताले पनि स्वीकार भने गरेका छैनन् ।