एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित


narendra_shresthaअखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा भएको विशेष साधारणसभामा निकटतम प्रतिद्वन्द्वी कर्माछिरिङ शेर्पालाई ५ मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले ३६ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी शेर्पाले ३१ मत प्राप्त गर्नुभयो ।

यसैगरी एन्फाको वरिष्ठ उपाध्यक्षमा मणि कुँवर निर्वाचित हुनुभएको छ । उहाँ पनि श्रेष्ठकै प्लानलका हुनुहुन्छ । कुँवरले कुँवरले ३४ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी शेर्पा प्यानलका दिपक खातीको पक्षमा २५ मत परेको थियो ।

यसैगरी स्वतन्त्र रुपमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उपेन्द्रमान सिंहले ८ मत पाउनुभएको छ । नवनिर्वाचित श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा निर्वाचित कुँवर एन्फाका पूर्वअध्यक्ष गणेश थापा पक्षधर मानिन्छन् ।

अध्यक्षमा विजयी भएका श्रेष्ठ एन्फाको कार्यबहाक अध्यक्ष हुनुहुन्थ्यो । एक वर्षअघि भ्रष्टाचारको मुद्दामा अध्यक्ष गणेश थापालाई फिफाले कारबाही गरेपछि श्रेष्ठले कार्यवाहकको रुपमा काम गर्दै आउनुभएको थियो । त्यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि उपाध्यक्ष पदमा पनि सोमबार निर्वाचन भएको थियो ।

अध्यक्षमा विजयी भएका श्रेष्ठ न्युरोड टिम एनआरटीको अध्यक्ष, महासचिव भएर १७ वर्षसम्म काम गरिसक्नुभएको छ । उहाँले फुटबलको विकासमा ३० वर्षभन्दा धेरै योगदान गरेको भन्दै एसियाली फुटबल महासंघले प्रदान गर्ने गोल्ड मेडल अवार्डबाट पुरस्कृत हुनुभएको थियो ।

पराजित शेर्पा हिमालयन शेर्पा क्लबको अध्यक्ष तथा एन्फाको उपाध्यक्ष भएर काम गरेका व्यक्ति हुनुहुन्छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा हार÷जित स्वाभाविक भएको भन्दै सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्षमा पराजित शेर्पाले भने साधारणसभामा आर्थिक चलखेल भएको आरोप लगाउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?