२२ एशियाली देश मिलेर इन्भेष्टमेन्ट बैंक बनाउने, चीन प्रमुख साझेदार, नेपाल पनि संस्थापक राष्ट्र
एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी) स्थापनाका लागि आगामी शुक्रबार २२ एसियाली मुलुकले एक समझदारी पत्रमा औपचारिक हस्ताक्षर गर्ने भएका छन् । चीनका राष्ट्रपति सी जिन पिङको उपस्थितिमा यस क्षेत्रका अर्थमन्त्रीहरुले उक्त बैंक स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न लागेका हुन् । एसियाली मुलुकमा विशेषगरी पूर्वाधारका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले स्थापना हुन लागेको उक्त बैंकको नेपाल पनि संस्थापक राष्ट्र बन्ने भएको छ । नेपालका तर्फबाट उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री डा रामशरण महत बेइजिङतर्फ प्रस्थान गर्नुभयो । अर्थसचिव सुमनप्रसाद शर्मा तथा मन्त्रालयका उच्च पदाधिकारीले अर्थमन्त्री महतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो । अर्थमन्त्रीका साथमा मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी पनि हुनुहुन्छ । सो बैंक सन् २०१५ भित्रै स्थापना गरी सञ्चालनमा ल्याउने योजना रहेको छ । चीनको प्रमुख हिस्सा रहेको उक्त बैंकको प्रधान कार्यालय बेइजिङमा राख्ने सहमति पनि भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डा महत शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।