मेलबर्न आइपुगे रामजी खाँड र रमिला न्यौपाने, आज साँझ दोहोरी घन्किने
हिमाली कल्चरल ग्रुपको आयोजनामा मेलबर्नको ईस्टोनियन हाउसमा आज साँझ हुन लागेको दशैं तिहार रमाइलो साँझ कार्यक्रममा सहभागी हुन कलाकारहरु मेलबर्न आइपुगेका छन् । नेपाली लोक दोहोरी क्षेत्रका चर्चित कलाकार रामजी खाँड र रमिला न्यौपाने यतिबेलामेलबर्नमा छन् । रमिला न्यौपाने ब्रिसबेनमा आयोजना गरिएको नेपाल महोत्सवमा सहभागी भएर सिधै मेलबर्न आइपुगेकी हुन् । मेलबर्नमा शुक्रबार आइपुगेका दुबै कलाकारहरुले आफुहरु निकै उत्साही रहेको बताउँदै दर्शकहरुलाई मेलबर्नको चीसोमा दोहोरीको न्यानो पस्किन पाउँदा खुशी लागेको प्रतिक्रया दिएका छन् । यी दुई राष्ट्रिय कलाकारहरुलाई मेलबर्न निवासी गायक विराज थापाले साथ दिनेछन् । यति मात्र होइन मेलबर्नका स्थानीय कलाकारहरु हिरा गौतम, यमनुा कँडेल, कोपिला हुमागाई, थापा सरकार, माधव न्यौपाने, तारा गैरे र सनम पोखरेलले पनि आफ्नो प्रस्तुति दिनेछन् । साँझ ५ बजेबाट नै कार्यक्रम सुरु गरिने भएकाले समयमै हलमा आइदिन पनि आयोजकले आग्रह गरेका छन् । एमएनटीभीसँग कुरा गर्दै आयोजकमध्येका एक विराज थापाले भने, “कलाकारहरुले कार्यक्रमस्थलको भ्रमण गरिसक्नुभएको छ । साउण्ड सिष्टम र अन्य सबै कुराको तयारी पनि भइसक्यो । अब हामी साँझ दर्शकहरुको प्रतिक्षामा छौं । म सबै मेलबर्नवासी लोकगीतप्रेमी दर्शकहरुलाई यस कार्यक्रममा सहभागी हुन आह्वान गर्दछु ।” कार्यक्रमको प्रमुख प्रायोजक कँडेल कन्सल्टेन्सी रहेको छ।