महाभियोग प्रस्तावमाथिको छलफल आइतबार सकिने
व्यवस्थापिका–संसद्को बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख ओनसरी घर्तीले महाभियोगका विषयमा लामो समयसम्म छलफल गर्नेभन्दा पनि छिटो टुङ्ग््याउन आफूले प्रमुख दलका नेतालाई अनुरोध गरेको र प्रतिनिधिमूलक ढङ्गले कुरा राख्न प्रमुख सचेतकमार्फत सांसदलाई आग्रह गरेको जानकारी दिनुभयो ।
महाभियोग प्रस्तावमाथिको छलफलमा हालसम्म ५१ सांसदले आफ्नो धारणा राखिसक्नुभएको तथा बाँकी ३० सांसदले बोल्न बाँकी छ । सभामुखका अनुसार हाल ३३ विधेयक छलफलका क्रममा छन् ।
प्रमुख विषयमा राजनीतिक दलबीच सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले पछिल्ला दिनमा लगातार भइरहेका बैठकले समेत सहमतिको वातावरण तयार पारेको जिकिर गर्नुुभयो ।
प्रमुख दलको सहमतिबिना महाभियोग लगायत राष्ट्रिय कार्यसूची अगाडि बढ्न नसक्ने भएकाले त्यसमा ध्यान दिन आफूले आग्रह गरेको उहाँको कथन थियो । संविधान कार्यान्वयनसँग जोडिएका विधेयकलाई प्रमुखताका साथ अगाडि बढाउन आफूले बिहानको समयमा समितिको बैठक राख्न र अपराह्न मात्रै सदनको बैठक राख्ने गरी समय मिलाएको जानकारी दिनुभयो ।
“संविधान कार्यान्वयनसँग जोडिएका विधेयक र अन्य विधेयकलाई सँगै लैजानुपर्छ भन्ने सोचका साथ समय व्यवस्थापन गरिएकाले सहजता हुन्छ भन्ने मैले विश्वास गरेको छु” सभामुखले भन्नुभयो । रासस