नेपाली भाषा र साहित्यको विकासमा महाकवि देवकोटाको अतुलनीय योगदान


??????????????????????????????????राष्ट्रपति डा रामवरण यादवले नेपाली भाषा र साहित्यको विकासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अतुलनीय योगदान रहेको बताउनुभएको छ । रत्न पुस्तकालयले आफ्नोे ५२औँ स्थापना दिवस तथा १०६औँ लक्ष्मीजयन्तीको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले त्यतिबेलाको विभिन्न दबाबका बाबजुद पनि नेपाली भाषाको उत्थानका लागि महाकवि देवकोटाले ठूलो योगदान पु¥याउनुभएको बताउनुभयो । राष्ट्रपति यादवले भन्नुभयो, “महाकवि देवकोटाले नेपाली भाषा, साहित्यको विकासमा अहोरात्र खटेर दिनुभएको योगदान सदा स्मरणीय छ र उहाँको योगदानको म मुक्तकण्ठले प्रशंसा गर्दछु ।” उपप्रधानमन्त्री प्रकाशमान सिंहले महाकवि देवकोटाले जीवनभर नेपालको शिक्षा, भाषा र साहित्यको विकासमा ठूलो योगदान दिनुभएको बताउनुभयो । माघ ८ गतेभित्र संविधान जारी गर्नका लागि दलहरूबीच सहमति गर्ने प्रयास जारी रहेको भन्दै उहाँले त्यो प्रयास सकारात्मक रहेको जानकारी गराउनुभयो । सो अवसरमा राष्ट्रपति यादवले नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पु¥याउनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरे, वरिष्ठ साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र महाकवि देवकोटा रक्तकोषका अध्यक्ष वसन्तकुमार नेपाललाई पुस्तकालयको मानार्थ सदस्यता प्रदान गर्नुभयो । त्यस्तै, राष्ट्रपति यादवले महाकवि देवकोटा, जागरण कवि धरणीधर कोइराला, नेपाल भाषाका महाकवि चित्तधर हृदय र नाटककार पहलमानसिंह स्वाँर, कवि भूमि शेरचन र आख्यानकार विष्णुकुमारी वाइवाको सालिकमा माल्यार्पण पनि गर्नुभयो । पुस्तकालयको मानार्थ सदस्यता प्राप्त गर्नुहुने संस्कृतिविद् जोशीले नेपाली समाजमा महाकवि देवकोटाले रामायण, शकुन्तला, सुलोचनालगायतका कृतिहरू प्रदान गरी नेपाली भाषा र साहित्यको विकासमा उल्लेखनीय योगदान पु¥याउनुभएको भन्दै नेपाली भाषा र साहित्यलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन उहाँ सफल हुनुभएको बताउनुभयो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष शशिविक्रम राणाले राष्ट्रपति डा यादवलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । रत्न पुस्तकालय (सार्वजनिक) को स्थापना २०१९ सालमा भएको हो । यसका २१७ जना आजीवन सदस्य रहेका छन् । पुस्तकालयले महाकवि देवकोटा रक्तकोषको ३२औँ वार्षिक दिवसका उपलक्ष्यमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । १०६औँ लक्ष्मी जयन्तीका अवसरमा कम्तीमा पनि १०६ जनाले रक्तदान गर्ने लक्ष्य लिइएको छ भने हालसम्म ९० जनाले रक्तदान गरिसकेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?