लोपोन्मुख वन्यजन्तु सालकको खबटासहित पाँच जना पक्राउ, प्रहरी हिरासतमा राखी अनुसन्धान हुँदै


salak-ka-khapada-sahid-pakrauलोपोन्मुख वन्यजन्तु सालकको खबटासहित इलाममा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु पाँचथर र झापाका भएको प्रहरीले जनाएको छ ।

पाँचथरबाट इलामतर्फ जाँदै गरेको मे १ ज ९८३ नम्बरको यात्रुवाहक मार्सल गाडीमा लुकाएर राखि सालकको खबटा ल्याएको भन्ने सूचनाका आधारमा प्रहरीले बरबोटे गाविस–३ मा गाडी चेक गर्दा २ किलो ८ सय ग्राम सालकको खबटासहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर रानिटारका डेनी सुव्वा नेम्वाङ, झापा खुदनाबारी घर भई हाल पाँचथर फिदिम नगरपालिका–१ मा डेरा गरी बस्ने बिनोद शिवा, झापा दमक नगरपालिका–७ घर भई फिदिममा बस्दै आएका योगेश नेपाली, फिदिम नगरपालिका–१ का जीवन सुजी र पाँचथर लुम्फाबुङका–१ का सागर लावती रहेका छन् ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इलामको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिनुभयो ।

लोपोन्मुख वन्यजन्तुको रुपमा रहेको सालक नेपाल, भारत, चीन लगायतका दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । तर पनि धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञले बताउँदै आएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?