मेलबर्नको मुटु फेडरेशन स्क्वायरलाई नेपालमय बनाउँदै सम्पन्न भयो नेपाल महोत्सव
नेपाल महोत्सवको मेलबर्न संस्करण सम्पन्न भएको छ । एनआरएन अष्ट्रेलियाको आयोजनामा हरेक दूई ृवर्षमा हुने महोत्सवमा हजारौं सहभागी भएका छन् । महोत्सवको उद्घाटन नेपालका पर्यटनमन्त्री जीवनबहादुर शाही र भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री रविन स्कटले संयुक्त रुपमा गर्नुभयो । उद्घाटनपछि बोल्दै मन्त्री स्कटले नेपाल महोत्सवले भिक्टोरियाको बहुसांस्कृतिक संस्कारमा अर्को ईंटा थप्ने काम गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा आफ्नो मन्तव्य दिँदै प्रमुख अतिथि पर्यटनमन्त्री जीवनबहादुर शाहीले नेपालीहरु जहाँ जहाँ रहेपनि उनीहरुले नेपालको पर्यटन, नेपाली कला, संस्कृतिको प्रबद्र्धन गरिरहेको भन्दै सबै नेपाली नेपालका सद्भावदूत भएको धारणा राख्नुभयो । नेपालदेखि बोलाएर महोत्सवमा सहभागिताको अवसर दिएकोमा एनआरएन अष्ट्रेलियालाई धन्यवाद दिनुभएको थियो । भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले मेलबर्नको मुटुमा देशको झण्डा फहराउँदा गर्व अनुभूति भएको धारणा राख्नुभयो । जुनसुकै जातको, जुनसुकै ठाउँबाट आएको भएपनि नेपालीले नेपालीलाई विनाकुनै स्वार्थ सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले भूकम्प पछिको पुननिर्माणमा भएको प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो । उक्त अवसरमा एनआरएन उपाध्यक्ष भवन भट्ट, एनआरएनका ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, अष्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत राजेन्द्र पाण्डे, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर अष्ट्रेलियाकी फेडरल सदस्य मारिया भमाकिनो, भिक्टोरियन बहुसांस्कृतिक कमिशनका अध्यक्ष हेलेन कपालोस, भिक्टोरियाकी बहुसांस्कृतिक छायाँमन्त्री ईंगा पिउलिच लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सभापतित्व एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले गरेका थिए भने भिक्टोरियाका एनआरएन संयोजक केशव कँडेलले स्वागत मन्तव्य दिएका थिए । औपचारिक कार्यक्रमको सञ्चालन एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोताने र एनआरएन भिक्टोरियाका सचिव माधव पौडेलले गरेका थिए । मेलबर्नको मुटु फेडरेसन स्क्वायरमा भएको महोत्सवमा नेपालीहरु ठूलो संख्यामा सहभागी भएका थिए । विहान ११ बजेदेखि नै त्यहाँ चहलपहल थियो । करिब ६ महिनाको तयारीपछि आयोजना गरिएको महोत्सवले नेपालको पर्यटन प्रबद्र्धन र अष्ट्रेलियामा रहेका नेपालीहरुलाई एकताबद्ध गर्ने उद्देश्य लिएको थियो । कार्यक्रमको औपचारिक उद्घाटन दिउँसो तीन बजेमात्र गरिएको भएपनि विहान मेलबर्नको स्टेट लाईब्रेरीबाट सुरु भएको परेडअघि नै ठूलो संख्यामा नेपालीमात्र नभएर विदेशी पनि फेडरेसन स्क्वायरमा प्रतिक्षारत थिए । महोत्सवमा मेलबर्नमा रहेका नेपालीहरुमात्र सहभागी थिएनन् केहीले आफ्ना विदेशी साथीहरुलाई पनि नेपाली स्वादको खाना, नेपाली संगीत र नेपालको कला, संस्कृति देखाउनका लागि लिएर आएका थिए । नेप्लीज मल्टिकल्चरल कम्युनिटी सेन्टर मेलबर्नले संयोजन गरेको नेपाल हाउसमा यस्तै झल्को देख्न सकिन्थ्यो । नेपाल हाउसमा एकै दिन १५ सय विदेशीले भ्रमण गरेको र तिमध्ये ५ सयभन्दा बढीले नेपाल भ्रमणको बारेमा चासो लिएर जानकारी मागेको यसको संयोजन गरिरहेका न्याभका पूर्वअध्यक्ष रञ्जन वैद्यले बताउनुभयो । नेपाली पर्यटन प्रबद्र्धन गर्नका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाल हाउसलाई नेपाली घरझैं सिंगारिएको थियो । घरभित्र नेपाली वास्तुकलाका सामग्रीहरु, नेपाली मूर्तिकलाको प्रदर्शन, नेपालका विभिन्न चर्चित ठाउँहरुको जानकारी समेटिएको वृत्तचित्र प्रदर्शनी गरिएको थियो । त्यहाँ पुग्ने पर्यटकलाई उनीहरुले चाहेको नेपालसम्बन्धी जानकारी दिनका निम्ति स्वयंसेवकहरु खटिएका थिए । ट्याग अ मेट ब्रिंग अ मेट योजनाका सूत्रधार एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेले विदेशीले चासोपूर्वक नेपाली कला, संस्कृतिको बारेमा जिज्ञासा राख्दा निकै खुशी लागेको बताउनुभयो । घोतानेले नेपाली पर्यटन प्रबद्र्धनका लागि आयोजित कार्यक्रमले नेपाली मनोरञ्जन दिनुका साथै अष्ट्रेलियामा रहेका गैरनेपालीभाषी समूदायलाई नेपालप्रति चासो बढाउन निकै मद्दत गरेको धारणा राख्नुभयो । एनआरएन उपाध्यक्ष एवं भिक्टोरियाका संयोजक केशव कँडेलले सबै स्वयंसेवक, प्रायोजन, कलाकारहरु र भिक्टोरियामा रहेका संघसंस्थाहरुको साथमा एनआरएनले आयोजना गरेको नेपाल महोत्सव भव्यतापूर्वक सम्पन्न भएको भन्दै यसमा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो । कँडेलको भनाई छ, साथीहरुले निकै मेहनतका साथ महोत्सवलाई भव्य तुल्याउन कुनै कसर बाँकी राख्नुभएन । नेपाल महोत्सवमा देखिएको उपस्थितिले हामीलाई निकै नै हौसला दिएको छ । महोत्सवको आयोजनामा नेप्लीज एशोसिएनस अफ भिक्टोरियाले सहकार्य गरेको थियो भने नेपाल पर्यटन बोर्ड र भिक्टोरिया बहुसंस्कृति आयोगले सहयोग गरेको थियो । नेपाल महोत्सव २०१६ को ईभेन्ट म्यानेजमेन्ट यति फुटबल क्लबले गरेको थियो । महोत्सवकै लागि सैयौंको संख्यामा स्वयंसेवक खटिएका थिए भने ४५ भन्दा बढी स्टलहरुबाट नेपाली खानाका परिका, नेपालीले सञ्चालन गरेका व्यापार व्यवसाय आदिको प्रबद्र्धन गरिएको थियो । एनआरएन अष्ट्रेलियाले यसअघि ब्रिसबेन, सिड्नीमा नेपाल महोत्सव सम्पन्न गरिसकेको छ भने आगामी मार्च महिनामा एडिलेडमा नेपाल महोत्सव गर्ने तय भएको छ ।