आठ विकेटले बर्मुडालाई पराजित गर्दै नेपाल डिभिजन थ्रीको खेलमा विजयी
आइसिसी वल्र्ड लिग क्रिकेट डिभिजन थ्रीअन्तर्गत भएको दोस्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेट्सले पराजित गरेको छ । मलेसियास्थित क्वालालम्पुरको सेलेङ्गर टर्फ मैदानमा भएको सो प्रतियोगितामा बर्मुडाले दिएको १०१ रनको लक्ष्यलाई पच्छाएको नेपालले ११ दशमलव १ ओभरमा २ विकेटको क्षतिसँगै भेटायो । सो प्रतियोगितामा नेपालको यो पहिलो जित हो । हिजो भएको पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बर्मुडा ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय रनमा समेटिएको थियो । नेपालको जितमा विनोद भण्डारी ४३ रनमा अविजित रहे । उनले ३१ बलमा आठ चौका र एक छक्काको सहयोगमा ४३ रन जोडेका हुन् । त्यस्तै सुवास खकुरेलले ३० रनको योगदान दिँदै आउट भए । २२ बल खेलेका सुवासले एक छक्का र चार चौका प्रहार गरे । कप्तान पारस खड्का भने १४ रनमा अविजित रहे । सात बल खेलेका पारसले दुई चौका हाने भने नरेश बुढाऐरले ६ रन जोड्दै आउट भए । नेपालले २१ रन जोड्दा नरेश आउट भएका थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी, शक्ति गौचन र अमृत भट्टराईले समान दुई–दुई विकेट लिएका थिए भने सोमपाल कामी र सागर पुनले समान एक–एक विकेट लिए ।