मेलबर्नको तमु ल्होछारमा चरा वर्गको स्वागत, नयाँ पुस्ताको सहभागितामा जोड


मेलबर्नमा तमु समाज भिक्टोरियाको आयोजनामा ल्होछार २०१७ सम्पन्न भएको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजना गरिएको ल्होछार स्वागत र शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नयाँ पुस्ताका लागि समेत ध्यान दिएर हामीले परम्परागत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।  महावाणिज्यदूत योञ्जनले कार्यक्रममा प्रस्तुत गरिएका प्रस्तुतिहरु वास्तवमै सिर्जनात्मक भएको भन्दै प्रशंसा पनि गर्नुभयो । उक्त अवसरमा अतिथिको रुपमा भिक्टोरिया बहुसांस्कृतिक आयोगकी अध्यक्ष हेलेन कप्पालोस र भिक्टोरिया प्रहरीका डेप्युटी कमिश्नर एन्ड्रयू क्रिस्पले नेपाली समूदायले भिक्टोरियामा दिएको योगदानको चर्चा गरेका थिए । संस्थाकी सचिव अमृता गुरुंगले उपस्थित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने अध्यक्ष पहलमान गुरुंगले हाम्रो भाषा, संस्कृतिलाई जगेर्ना गर्न जागरुक बन्नुपर्ने बताउनुभयो । गाउँ गाउँबाट उठ बोलको गीतबाट साना बालबालिकाहरुको नृत्यमार्फत सुरु गरिएको कार्यक्रममा नेपाली आधुनिक नृत्य, परम्परागत घाटु नाचका साथै सोरठीले धेरैलाई आकर्षित तुल्याएको थियो । परम्परागत बौद्ध पूजाको समेत व्यवस्था गरिएको थियो भने मेलभिलरोडस्थित ईस्टोनियन हाउसलाई बौद्ध संस्कृति अनुसार सजाइएको थियो । उक्त अवसरमा शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने  तमु समूदायका बालबालिका र युवाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?