पानी परेपछि नेपाल र अमेरिकाबीचको आइसिसी विश्व लिग क्रिकेट खेल स्थगित


icc1मलेसियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्रीअन्तर्गत सोमबार भएको नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण स्थगन भएको छ । मलेसियास्थित किनरारा ओभल मैदानमा भएको सो प्रतियोगितामा लगातार वर्षा भएपछि खेल मङ्गलबार सञ्चालन हुनेछ ।  यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले ४७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रनको योगफल तयार गरेको थियो । नेपालले जवाफी ब्याटिङ सुरु गर्न नपाउँदै पानी परेपछि खेललाई ३० ओभरमा छोट्याइएको थियो ।  खेल ३० ओभरमा छोट्याइएपछि १६२ रनको नयाँ लक्ष्य पाएको नेपालले सात ओभरमा तीन विकेट गुमाउँदै २७ रन जोड्दा पुनः पानी परेपछि खेल रोकिएको हो । अमेरिकालाई २०४ रनमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले तीन विकेट लिए भने सागर पुन, वसन्त रेग्मी र शक्ति गौचनले समान दुई दुई विकेट लिएका थिए । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले बर्मुडा र सिङ्गापुरलाई पराजित गरेको तथा युगान्डासँग हार बेहोरेको थियो ।  प्रतियोगितामा शीर्ष दुईभित्र पर्ने टोली डिभिजन टु मा बढुवा हुनेछन् ।

नेपाल विजयी

नेपाली महिला नेत्रहीन क्रिकेट टोली ट्वेन्टी ट्वेन्टी मैत्रीपूर्ण क्रिकेट खेलमा इङ्ल्यान्डलाई पराजित गर्दै विजयी भएको छ । पुल्चोकस्थित इन्जिनियरिङ त्रिकेट मैदानमा भएको सो प्रतियोगितामा नेपालले इङ्ल्यान्डको महिला नेत्रहीन टोलीलाई ९३ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ओभरमा १७४ रनको विशाल योगफल खडा ग¥यो । एक सय ७५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्ड निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ८० रनमा समेटियो । नेपाली टोलीको जितमा मनकेशरी चौधरीले सर्वाधिक ७७ रनको योगदान दिइन् भने ओममायाले २४ रन जोडिन् ।  इङल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी भगवती भट्टराई र सुनिता घिमिरेले समान दुई दुई विकेट तथा मुना अर्याल र सरिता घिमिरेले समान एक एक विकेट लिएका थिए । इङ्ल्यान्डका लागि भने जडीले १६ तथा सराहले १४ रन बनाएका थिए । नेपाल नेत्रहीन क्रिकेट सङ्घको आयोजना र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा भएको उक्त प्रतियोगितामा प्लेएर अफ द म्याच घोषित भएकी नेपालकी मनकेशरी चौधरीले रु दुई हजारसहित ट्रफी प्राप्त गरिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?