प्रणाली अवरुद्ध हुँदा विद्युत् आपूर्तिमा समस्या, प्राधिकरणले माफी माग्यो


नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणाली आंशिकरुपमा अवरुद्ध हुँदा राजधानीलगायतका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेकामा प्राधिकरणले दुःख व्यक्त गरेको छ ।

अपराह्न प्राधिकरणको चपली– भक्तपुर १३२ केभी प्रसारण लाइनको अर्थ फल्ट ट्रिप भई समस्या आएको र सो समस्याका कारण खिम्ती–ढल्केबर प्रसारण लाइनमा समेत समस्या उत्पन्न भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । प्रणालीमा उत्पन्न भएको समस्याका कारण प्राधिकरणको केन्द्रीय प्रणालीमा पर्ने क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको थियो । प्राधिकरणको भार प्रेषण केन्द्रका इन्जिनियर तथा प्राविधिकको अथक प्रयासपछि प्रणालीलाई करिब आधा घन्टामा पूर्ववत् अवस्थामा ल्याउन सफल भएको प्रवक्ता अधिकारीको भनाइ छ । यस्तै सुनकोसीबाट काठमाडौँ आउन प्रसारण मार्गमा गएराति ६६ केभीको टावर ढलेकामा वैकल्पिक व्यवस्थाबाट सुनकोसी विद्युत् गृहको विद्युत् पुनः सञ्चालन गरिएको छ । वैकल्पिक मार्ग प्रयोग गरेर सुनकोसी जलविद्युत् आयोजनाको विद्युत् जोडिएको र आपूर्तिमा कुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?