सकियो छठ पर्व, ठेकुवा, केरा, भुसुवा, मिठाई लगायतको प्रसाद ग्रहण
उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि चारदिनदेखि जारी रहेको छठपर्व विधिवत् रूपमा आज बिहान सम्पन्न भएको छ । कात्तिक शुक्ल षष्ठी तिथिमा बुधबार अस्ताउँदै गरेको र आज बिहान सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि छठपर्व सम्पन्न भएको हो । सो अवसरमा बर्तालुले जलमा प्रवेश गरी भगवान् सूर्यलाई ठेकुवा, केरा, भुसुवा, मिठाइलगायत विभिन्न प्रकारका प्रसाद अर्पण गरेका थिए । सोही क्रममा मोरङको सिंग्याही खोला, हाट खोला, कोसी नहरका साथै विभिन्न खोला र पोखरीमा आज भव्यताकासाथ छठपर्व मनाउँदै विधिपूर्वक व्रतालुले अर्घ अर्पण गरेका हुन् । यो पर्वका बर्तालुले कात्तिक शुक्ल चतुर्थीका दिन विधिवत् रूपमा स्नान गरी नयाँ वस्त्र धारण गरी अरूवा–अरूवाइन ग्रहण गरेर पर्वको शुभारम्भ गरेका थिए । त्यसपछि, पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको भाँडोमा खिर पकाएर देउतालाई अर्पण गरेर प्रसादका रूपमा ग्रहण गरी पुनः उपवासमा बसेर षष्ठी तिथिमा अस्ताउँदो र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पर्व सम्पन्न भएको हो । यसरी बर्तालु महिलालाई लगातार ५० घन्टासम्म उपवासमा बस्नु पर्दछ ।