नेपाली फुटबलका उज्वल नक्षत्र नवयुग श्रेष्ठ अष्ट्रेलिया आउँदै, २ अप्रिलमा स्पोर्टस एवार्ड नाईट
नेपाली फुटबल टोली यतिबेला उत्कृष्ट फर्ममा छ । लगातार तीन अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा जीत हासिल गर्न सफल यो टोलीका एउटा स्टार खेलाडी हुन् नवयुग श्रेष्ठ । नवयुग श्रेष्ठ यो अप्रिल २ तारिखमा सिड्नीमा आयोजना हुने एवीके लयर्स एनआरएन अष्ट्रेलिया स्पोर्टस एवार्ड नाईटमा सहभागी हुने भएका छन् । नवयुग श्रेष्ठसँगै अनिल गुरुंग पनि अष्ट्रेलिया आउँदैछन् । यसैगरी भलिबल खेलाडी भरत शाहलाई पनि यो एवार्ड कार्यक्रममा सहभागी हुन एनआरएन अष्ट्रेलियाले बोलाएको छ । एनआरएन अष्ट्रेलियाले गरेको खेल प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई यहाँ पुरस्कार वितरण गरिने भएको छ । संयोजक नन्द गुरुंगका अनुसार साँझ ५ः३० बजेबाट एवार्ड नाईट हुनेछ । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथै विजयी खेलाडीहरुलाई प्रोत्साहन प्रदान गरिने भएको छ । नेपाली फुटबल जगतमा अन्तर्राष्ट्रिय खेलाडीमा ह्याट्रिक गर्ने नवयुग यतिबेला त्रिभुवन आर्मीका खेलाडी हुन् । उनले गत वर्षको राष्ट्रिय लिगमा सर्वाधिक १४ गोल गरेका थिए । नेपाली फुटबलमा खेल मिलेमतोको काण्डमा अघिल्ला खेलाडीहरु पक्राउ परेपछि फुटबल नै धरासायी बन्छ कि भन्ने आंकलनलाई गलत सावित गर्दै निरन्तर सफलतातर्फ नेपाली टोलीलाई अघि बढाउन नवयुगको उत्कृष्ट योगदान रहेको छ । ईलामका स्थायी बासिन्दा नवयुग भर्खर २५ वर्षका भएका छन् । अनिल गुरुङ नेपाली राष्ट्रिय टोलीमा रहेर खेलिसकेका खेलाडी हुन् भने उनी यतिबेला मनांग मस्र्याड्दीका खेलाडी हुन् । उनले बेलायतको चेल्सी फुटबल क्लबका लागि करिब चार महिना लामो ट्रायल दिएका थिए ।