छठको प्रसाद खाँदा दुईजनाको मृत्यु, रौतहटका अन्य दुईको अवस्था गम्भीर


rautahatछठी माइको व्रतपछि विषाक्त प्रसाद खाँदा झाडापखालाको कारण कनकपुर गाविसका एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । छठी माताको पूजा सम्पन्न गरेर ठेकुवा, भुसुवा, खजुरीलगायत प्रसाद खाएका रौतहट कनकपुर –६ मुसहरी टोल निवासी ५० वर्षीय बुधु माझी र निजकी ४५ वर्षीया श्रीमती इनरवतीदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रामप्रवेश चौधरीले बताउनुभयो । बुधु माझीको झाडापखालाको कारण आज दिउँसो र निजकी श्रीमतीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले बताउनुभयो । झाडापखालाका कारण बिरामी परेका निजका एक वर्षीय नाति दीपेश र तीन वर्षीया नातिनी निर्मलाको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला अस्पताल ल्याइएको रौतहट प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?