अर्को दुःखद खबर, ५० हजार लागूऔषध ट्याबलेटसहित नेपाली युवा सिड्नीमा पक्राउ


बिहीबार प्रहरीले ५० हजारभन्दा बढी एमडीएमए ट्याबेलटसहित एक नेपाली युवालाई पक्राउ गरेको छ । प्रहरीले नियमित जाँचका क्रममा मध्यान्ह १२ः३० बजे डार्लिंगहस्र्टको लिभरपुल स्ट्रीटमा नेपाली युवाको गाडी रोकेको थियो । उनको व्यवहार शंकास्पद पाएपछि प्रहरी जाँच गर्दा उनको साथबाट ३२ हजार एमडीएमए ट्याबलेट बरामद गरेको जनाएको छ । यस लगत्तै २९ वर्षीय नेपाली युवालाई पक्राउ गरी किंग क्रस पुलिस स्टेशनमा लगिएको र उसको डार्लिंगहस्र्टस्थित क्राउन स्ट्रीटको कोठामा खानतलासी गर्दा थप २२ हजार ट्याबलेट भेटिएको न्यूसाउथवेल्स प्रहरीले जनाएको छ । निजलाई आज स्थानीय अदालतमा उपस्थित गराइने भएको छ । पक्राउ परेका नेपाली युवालाई लागूपदार्थको बिक्रीको आरोप लगाइएको र थप अनुसन्धानबाट निज विद्यार्थी भिसामा अष्ट्रेलिया आएको, हाल भिसा समाप्त भइसकेको न्यूसाउथवेल्स प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप जानकारी भए फोन नम्बर १८००३३३००० मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
के हो एमडीएमए ?
एमडीएमए केमिकल प्रयोग गरी बनाइएको लागू पदार्थ हो । यसको पूरा नाम Methylene-Dioxy Meth Amphethamine हो । यसमा एम्फेटामाईनको प्रयोग गरिएको हुन्छ । यसले प्रयोग गरिएको मात्रा र लिने व्यक्तिको स्वास्थ्य अनुसार असर गर्दछ । यसको असर सेवन गरेको ६० मिनेटबाट सुरु हुने र १२ घण्टासम्म रहने प्रहरीको वेवसाईटमा लेखिएको छ । यसलाई सेवन गर्नु गैरकानूनी हो र न्यूसाउथवेल्समा यस्तो गरेको अवस्थामा अधिकतम ५ हजार डलर जरिवाना र २ वर्षसम्म जेल सजाय  वा दुवै हुन सक्छ । अझ यसको व्यापार गर्ने अपराध ठहरेको अवस्थामा जरिवाना र सजाय निकै बढी हुन सक्छ । यसको अत्यधिक सेवनले कलेजो, मुटु र मस्तिष्कमा क्षति हुने सम्भावना रहन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?