एमालेमा महाधिवेशनको ह्यांगओभर बाँकी, एकलौटी निर्णय गरिएको माधव नेपालको आरोप


madhavनेकपा (एमाले) भित्र महाधिवेशनताका प्रारम्भ भएको गुटगत विवाद साम्य हुन नसक्दा पार्टीभित्र जिम्मेवारी बाँडफाँटलगायत कार्य प्रभावित भएको छ । नवौँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएपछि अध्यक्षका पराजित नेता माधवकुमार नेपाल र उहाँनिकट नेताले संस्थागत निर्णय र परिपाटी मिच्ने काम भएको आलोचना गर्दै आउनुभएको छ । नेता नेपालले सो विषयलाई आजदेखि प्रारम्भ भएको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा लिखित रूपमा दर्ज गराउनुभएको छ । नेता नेपालले अध्यक्ष ओलीमा मनोमानी, स्वेच्छाचारिता र एकलकाँटे तौरतरिका देखिएकोे जनाउँदै उहाँका कामकारबाहीबाट पार्टीको आन्तरिक एकता कमजोर पार्ने काम मात्र भएको बताउनुभएको छ । नेपालले पार्टीमा “पहिले निर्णय गरौँ पछि मुख मिलाउँला, राय लिएजस्तो गरौँ निर्णय आफ्नो गरौँ, एकलौटी निर्णय गरौं र ठेल्दै जाऔँ, उपयोग गरौँ तर निर्णयमा सहभागी नबनाऔँ” भन्ने कार्यशैली अबलम्बन गरिएको जनाउनुभएको छ । नेता नेपालको अपिलपत्रमा महाधिवेशनमा पारित विधानलाई प्रकाशनका क्रममा आफुखुुसी थपघट गरिएको, विधानबाट अन्तर्राष्ट्रिय गीतसमेत हटाइएको, राज्यपुनःसंरचनाका सम्बन्धमा अध्यक्षले व्यक्तिगत धाराणा सार्वजनिक गरेको, कामकारबाहीमा वरिष्ठ नेतासँग परामर्श नगरिएको, मन्त्रिपरिषद्बाट सभासद् मनोनयनमा पदाधिकारीबीचको सहमतिलाई पनि उलङ्घन गरिएको आरोप लगाउनुभएको छ । यस्तै सुकुम्बासी समस्या समाधान आयोग गठनमा गुटगत मान्यतालाई प्रोत्साहन गरिएको तथा संसदीय समितिका सभापति र प्रमुख सचेतक चयनमा उठेका प्रश्नमा कुनै छलफल नभएको गुनासो उहाँको छ । नेता नेपालले भन्नुभएको छ, “पार्टीका तर्फबाट विभिन्न समितिमा चयन हुनुभएका सभापतिप्रति मेरो कुनै पूर्वाग्रह छैन तर म अध्यक्षलाई सोध्न चाहन्छु के पार्टीमा कुनै मापदण्ड हुँदैन ? के पार्टीमा इमान्दारी, निरन्तरता, वरिष्ठताजस्ता कुनै पनि कुराको आवश्यकता पर्दैन ?” उहाँले सरकारमा पठाइएका दुई मन्त्रीलाई मनोमानी ढङ्गले, सम्बन्धित व्यक्तिलाई समेत जानकारी नदिई, कारबाहीको शैलीमा अपमानपूर्वक हटाउने काम गरिएकामा पनि आलोचना गर्नुभएको छ । नेपालको प्रश्न छ,“के दुनियाँको कुनै कम्युनिस्ट पार्टी यसरी चल्न सक्छ ? के हामीले भनेको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकीकरणको अर्थ यही हो ? के पार्टी अध्यक्षले पेलेरै सबैलाई ठेगान लगाउँछु भन्ने नै अठोट गर्नु भएको हो ? त्यसो गर्नु उपयुक्त हो कि होइन ? यदि यसरी नै चल्ने हो भने त्यसको परिणाम के होला ?”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?