तीन दलका नेता आफ्नै अडानमा अडिग, संवैधानिक संवाद समितिको बैठक निष्कर्शविहीन
प्रमुख तीन राजनीतिक दलको दलगत अडानका कारण संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा पनि कुनै सहमति हुन सकेन । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा संविधानको प्रमुख विवादित विषयमा छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । संविधानसभाले विवादित विषयमा सहमति जुटाउन दिएको समयसीमा पूरा हुन एक दिन मात्रै बाँकी छ । शीर्ष नेतृत्वमा नै छलफल गर्नुपर्ने भन्दै सभासद्ले माग गरेपछि बैठकमा कुनै पनि विषयमा ठोस छलफल नभएको समितिका सभापति डा बाबुराम भट्टराईले जानकारी दिनुभयो । हालसम्म अनौपचारिक तथा औपचारिक छलफलका बारेमा बैठकमा जानकारी गराइएको तर दलगत अडानका कारण कुनै निष्कर्ष निस्कन नसकेको उहाँले सञ्चारकर्मीलाई बताउनुभयो । विवाद भए पनि सहमति हुने सम्भावना कायम रहेको तर उक्त सम्भावना नरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा डा भट्टराईले सभासद्सँग छलफल गर्नुभएको थियो । संविधानसभाले समितिलाई सहमति जुटाउन चार पटक म्याद थप गरिसकेको छ । पछिल्लो पटक यही कात्तिक १५ गतेसम्म अन्तिम पटक भन्दै समय थप गरेको थियो । विवादित विषयमा शीर्ष नेतृत्व तहमा नै सहमति गरेर शनिबार पुनः बैठक बस्ने भएको छ । बैठकपछि सभासद् लक्ष्मणलाल कर्णले भने सहमति भए सहज हुने र सहमति नभएको खण्डमा के गर्ने भन्ने विषमया समान धारणा नआएको जानकारी दिनुभयो । ‘‘कार्यतालिकाअनुसार सहमति नभएका विषयलाई प्रश्नावली बनाउनुपर्ने हो, सहमति पनि भएको छैन, समय पनि छैन यस्तो अवस्थामा शनिबारको बैठकमा ठोस निर्णय गरिन्छ’’ सद्भावना पार्टीका सहअध्यक्ष कर्णले भन्नुभयो ।