अनिल र नवयुगसँगै राष्ट्रिय फुटबल खेलाडीहरुलाई मेलबर्नमा सम्मान
एनआरएन अष्ट्रेलियाले आयोजना गरेको स्पोर्टस डेमा सहभागी हुन आएका नेपालको राष्ट्रिय फुटबल टिमका क्याप्टेन अनिल गुरुंग र फुटबल स्टार नवयुग श्रेष्ठलाई मेलबर्नमा सम्मान गरिएको छ । यति फुटबल क्लबको निम्तोमा मेलबर्न आइपुगेका दुबै खेलाडीसहित अष्ट्रेलियामै बसेर फुटबल खेलिरहेका राष्ट्रिय टोलीका पूर्वखेलाडीहरु जगजित श्रेष्ठ र अनिल ओझालाई पनि उक्त अवसरमा सम्मान गरियो । स्थानीय काठमाडौं कटेजमा आयोजना गरिएको सम्मान स्वागत कार्यक्रमको आयोजना यति फुटबल क्लब र गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समितिले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनसहित मेलबर्नका प्रतिष्ठित व्यक्तित्वहरु उपस्थित थिए । कार्यक्रममा बोल्दै महावाणिज्यदूत योञ्जनले नेपाली फुटबल जगतलाई नयाँ उचाईमा लैजान सफल खेलाडीहरुलाई आफ्नै शहरमा स्वागत गर्न पाउनु निकै खुशीको कुरा भएको बताउनुभयो । उहाँले नेपाल नेपाल भन्दै चिच्याउने हामीहरु सदैव नेपाली फुटबलको विकासका लागि कामना गरिरहेका हुन्छौं, भन्नुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव टोनु घोताने, भिक्टोरिया संयोजक एवं उपाध्यक्ष केशव कँडेल लगायतले देशका निम्ति खेलाडीहरुको योगदान अतुलनीय रहेको बताउनुभयो । खेलाडीहरुलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन यति क्लबका सुदिप मास्केले गरेका थिए । एमएनटीभीसँग कुरा गर्दै राष्ट्रिय कप्तान अनिल गुरुंग र नवयुग श्रेष्ठले नेपालमा घरेलु लिग खेल नभएको तीन वर्ष वितिसकेको भन्दै खेलाडीहरुलाई नियमित अभ्यासको व्यवस्था र सुनिश्चित भविष्यको ग्यारेन्टी गर्न सके नेपाली फुटबलले राम्रो गर्न सक्ने धारणा राखेका छन् । फुटबलका दुई स्टारसँगको कुराकानी आगामी १५ अप्रिल राति ८ बजे मेलबर्न टकमा प्रस्तुत गरिनेछ ।
थप तस्वीरहरु हाम्रो फेसबुक पेजमा हेर्न सकिनेछ ।