न्याभको मल्टिकल्चरल क्रिकेटमा अष्ट्रेलियन राष्ट्रिय टिमकी पूर्वक्याप्टेन जोडी फिल्ड्स उपस्थित हुने


अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आगामी अप्रिल १४ देखि १६ सम्म मल्टिकल्चरल क्रिकेटको आयोजना गर्ने भएको छ । नेपालीसहित अन्य विभिन्न समूदायकाबीचमा हुने क्रिकेट प्रतियोगिताको फाईनलको दिन अष्ट्रेलियन महिला क्रिकेट टोलीकी पूर्वकप्तान जोडी फिल्ड्स पनि खेलाडीहरुलाई हौसला दिन खेलस्थलमा उपस्थित हुने भएकी छिन् । कुनैपनि नेपाली संस्थाले आयोजना गरेको क्रिकेट प्रतियोगितामा यो स्तरको सहभागिता भएको पहिलो पटक हो । उनी अप्रिल १६ तारिखको फाईनल प्रतियोगिताको बेला विहान १० बजदेखि २ बजेसम्म खेल मैदानमा रहनेछिन् । क्वीन्सल्याण्डमा जन्मेकी फिल्डस अष्ट्रेलियाको राष्ट्यि टोलीको नेतृत्व गर्ने उक्त राज्यको पहिलो हुन् । न्याभका सचिव नोर्गेन नोर्बुले बहुसांस्कृतिक क्रिकेट प्रतियोगिता अप्रिल १४ तारिख शुक्रबार विहान ९ बजेदेखि टीडब्लू ब्लेक पार्क प्रेस्टनमा हुने जानकारी दिँदै नेपाली खेलाडीहरुको उत्साह बृद्धिका लागि उपस्थित भइदिन आग्रह गरेका छन् । प्रतियोगिताका संयोजक एवं न्याभका उपाध्यक्ष तारा गैरेले नेपाली टिमका साथै पाकिस्तानी टिम हक्स क्रिकेट क्लब, श्रीलंकन टिम नर्दन लायन्स, भुटानी क्रिकेट टिम, बंगलादेशी क्रिकेट टिम बंगाल टाईगर्स र भारतीय टिम शक्ति लायन्स सहभागी हुने जानकारी गराए । फाईनलका दिन नेपाली नयाँ वर्षको रमझमका साथ उत्सवकै रुपमा बहुसांस्कृतिक क्रिकेट प्रतियोगितामा रमाइलो गर्ने तयारी भएको गैरेको भनाई छ । न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले पनि नेपाली खेलाडीको उत्साह बढाउनका साथै बहुसांस्कृतिक भिक्टोरियाको समाजमा आफ्नो उपस्थितिलाई मजबुत रुपमा प्रस्तुत गर्न मेलबर्नमा रहेका सबै नेपालीलाई आह्वान गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?