यसरी दिए गृहमन्त्रीले संसदमा हिन्दू धर्मको विषयमा स्पष्टीकरण
उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले हिन्दू धर्मप्रति आफ्नो अगाध आस्था रहेको स्पष्ट गर्दै यही कात्तिक ११ गते स्थानीय शान्तिबाटिकामा प्रचलित कानुनबमोजिम कारबाही गरिएको बताउनुभयो । यही कात्तिक ११ गते शान्तिबाटिकामा भएको घटनाबारे व्यवस्थापिका–संसद्मा गत शुक्रबार जानकारी दिने क्रममा उहाँले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा नेपालका सभासदहरुले सदन अवरुद्ध गरेपछि उपप्रधानमन्त्री गौतमले हिन्दू धर्म र ग्रन्थप्रति आफ्नो अनास्था नरहेको प्रस्ट पार्नुभयो । सदन सञ्चालन गर्न राप्रपा नेपालसँग भएको सहमतिअनुसार व्यवस्थापिका–संसद्को बैठकमा उहाँले भन्नुभयो, “मैले बोलेका शब्दबाट तपाईंहरूको भावनामा चोट पुगेको भए व्यक्त भएका शब्दलाई फिर्ता लिन्छु तर मैले नियतवस त्यस्तो अभिव्यक्ति दिएको होइन ।” श्री निवास आचार्य सात महिनादेखि रिले अनसनमा बस्नुभएको र उहाँलाई त्यहाँबाट हटाउनुपर्ने कारण प्रस्ट्याउने क्रममा अनसनस्थलको व्याख्या गर्दै प्रतिकात्मक अभिव्यक्ति दिएको उहाँको भनाइ थियो । हिन्दू धर्ममा आस्थावान नेपालीको सङ्ख्या मुलुकमा अधिक छ र म पनि सोही धर्म मान्छु अनि यसबारे थोरबहुत जानकारी छ भन्दै उहाँले कानुनको पालना सबै नागरिकले गर्नुपर्नेमा जोड दिनुभयो । ‘भनेर आत्महत्या गर्न पाइँदैन, त्यसबारे जानकारी पाउनासाथ कानुन कार्यान्वयन गर्ने निकाय त्यो रोक्नेतर्फ लाग्छ’ व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो । रिले अनसन अन्यत्र सार्न पटकपटक अनुरोध गर्दा त्यो अस्वीकार भएपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औं शिखर सम्मेलनको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रचलित कानुनअनुसार अनसनकारी र तिनका सामग्री रत्नपार्कस्थित शान्तिबाटिकाबाट हटाइएको गृहमन्त्रीले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अनसनकारीका १७ ट्रक सामग्री महानगरपालिकामा सुरक्षित छन् र तिनलाई सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेछ ।” त्यसअघि राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरिले व्यवस्थापिका–संसद्को गत शुक्रबारको बैठकमा हिन्दू धर्मावलम्बीलाई अपमान गर्नेगरी गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको थियो ।