गर्भवति श्रीमतीलाई खुकुरीले छिनाले दलबहादुरले, मृतकको पेटमा तीन महिनाको बच्चा
आफ्नै श्रीमतीको हत्या गर्ने ताप्लेजुङको फुङ्लिङ घर भई तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ बस्ने दलबहादुर विश्वकर्मालाई आइतबार प्रहरीले पक्राउ ग¥यो । गत शुक्रबार सामान्य घरायसी झगडा हुँदा मादक पदार्थ सेवन गरी दलबहादुरले राति १२ बजे ३० वर्षीया श्रीमती विमला सार्कीलाई खुकुरी प्रहार गरेर हत्या गरी घरभित्र राखेको पाइएको प्रहरीले जनाएको छ । घरमा सुनसान देखेपछि छरछिमेकीले खोज्दै जाँदा सोमबार मृतक विमलाको शव घरभित्रै भेटेपछि प्रहरीलाई खबर गरेका थिए । छरछिमेकीको उजुरीका आधारमा हत्यारालाई जिल्ला कारागार नजिकैबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले जानकारी दिनुभयो । मृतकको शवको आइतबारै जिल्ला अस्पताल तेह्रथुममा परीक्षण गरिएपछि मृतकका आफन्तले दाहसंस्कार गरिसकेका छन् । परीक्षणबाट महिला तीन महिनाको गर्भवतीसमेत रहेको देखिएको जिल्ला अस्पताल तेह्रथुमले जनाएको छ । सधैँ मादक पदार्थ सेवन गर्ने गरेका दलबहादुरले अनुहार र घाँटीमा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतमको भनाइ छ । मृतकका एक डेढ वर्षीय छोरासमेत रहेका छन् ।