यो वर्ष फेशनमाण्डू काठमाडौंमा हुने, नेपाली मोडलहरु उत्साही
हरेक वर्ष अष्ट्रेलियामा आयोजना हुँदै आएको फेशनमाण्डू रनवे शोको तेश्रो संस्करण काठमाडौंमा हुने भएको छ । ११ अगष्टमा आयोजना हुने फेशनमाण्डूमा नेपालीसहित अष्ट्रेलियाका अन्तर्राष्ट्रिय मोडलहरु सहभागी हुनेछन् । आयोजक के गरिरा डटकमले जनाए अनुसार हालै फेशनमाण्डूमा सहभागी हुन चाहने नेपाली मोडलहरुको अडिसन सम्पन्न भएको छ । टेकूमा भएको अडिसनमा कोरियाग्राफर प्रशान्त ताम्रकार, चर्चित फोटोग्राफर राजभाई सुवाल, फेशन माण्डूकी क्रियटिम डाईरेक्टर कृष्टि थापा र संस्थापक किरण नेवाले उपस्थित मोडलहरुको अन्तर्वार्ता लिएका थिए । एमएनटीभीसँग कुरा गर्दै कोरियाग्राफर प्रशान्त ताम्राकारले नेपाली मोडलहरुमा फेशनमाण्डूलाई लिएर देखिएको आकर्षणबाट आफु सन्तुष्ट बनेको बताए । उनले फेशनमाण्डूको माध्यमबाट डिजाईनरहरुले अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त गर्ने विश्वास व्यक्त गरे । होटल याक एण्ड यति दरबारमार्गमा आयोजना हुने यस वर्षको फेशनमाण्डूले नेपाली फेशनको क्षेत्रमा नयाँ कोशेढुंगा थप्ने आयोजक के गरिरा डटकमले जनाएको छ । सन् २०१५ बाट सिड्नीमा सुरु भएको फेशनमाण्डूको पहिलो संस्करणमा मिस नेपाल श्रृष्टि श्रेष्ठ आकर्षणको केन्द्र बनेकी थिइन् भने दोश्रो २०१६ को संस्करणमा नायिका नम्रता श्रेष्ठ प्रमुख अतिथिको रुपमा सहभागी थिइन् ।