नेपाल वायुसेवा निगमको नयाँ जहाज ‘कोइली’ आइपुग्यो, विमानस्थलमा स्वागत पूजा
झन्डै सात महिनाको प्रयासपछि नेपाल वायुसोवा निगममा नयाँ चिनियाँ जहाज थपिएको छ । चीन सरकारको अनुदानको १८ सीट क्षमताको दोस्रो जहाज ‘वाई १२’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । जहाज विमानस्थल आइपुग्दा नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, नेपाल वायु सेवा निगमका अध्यक्ष शिवशरण न्यौपाने, महाप्रबन्धक मदन खरेललगायतले स्वागत गर्नुभएको थियो । विमानस्थलमा जहाज अवतरण भएपछि विधिपूर्वक पण्डितहरुद्वारा पूजा गरी भित्र्याइएको थियो । जहाजलाई चिनियाँ चालकद्वय क्याप्टेन रावर्टस ल्याम्वर्टस र क्याप्टेन मारिया एभिचन्द्रोन्कले त्रिभुवन विमानस्थलमा अवतरण गराएका थिए । उक्त जहाजलाई चीनको चेन्दु, मन्डेला, कोलकाता हुँदै काठमाडौँ ल्याइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । यसअघि वैशाख १४ गते ५८ सीट क्षमताको एमए–६० जहाज नेपाल आइपुगेको थियो । चीनबाट ल्याइने छ जहाजमध्ये दुई अनुदानमा र चार विमान सहुलियत ऋणमा उपलब्ध गराउने सहमति भएअनुसार ‘कोइली’ ल्याइएको हो । निगमका अनुसर १८ सीट क्षमताको वाई–१२ इ ढाँचाको विमान दुर्गम क्षेत्रमा उडानका लागि उपयोगी हुनेछ । आगामी दिनमा आउने चार जहाजमध्ये एउटा एमए–६० र तीन वाई–१२ इ हुनेछन् । दोस्रो विमानले कल साइन नं ९ एनएकेएस पाएको छ । चीनको एभिक कम्पनीले वाई–१२ ई विमानको निर्माण गरेको हो र सन् १९८२ मा उक्त विमानले पहिलो उडान गरेको थियो र सन् १९८५ देखि व्यावसायिक उत्पादन गरेको थियो । जहाज आएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्रका लागि यथाशीघ्र काम अगाडि बढाइने र प्रमाणपत्र प्राप्त भएलगत्तै उडान प्रारम्भ गरिने निगमले जनाएको छ ।