उपप्रधानमन्त्री गोपालमान श्रेष्ठसहित उच्चस्तरीय टोली अष्ट्रेलियामा, प्राविधिक शिक्षाबारे अध्ययन गरिने


उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठसहितको टोली ६ दिने अष्ट्रेलिया भ्रमणमा आएको छ । शनिबार मेलबर्नको अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री श्रेष्ठसहितको टोलीलाई भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले स्वागत गर्नुभयो । संघीय प्रणालीमा शिक्षाको विकास र व्यवसायिक शिक्षाको अवलोकन भ्रमणमा आफुहरु आएको उपप्रधानमन्त्री श्रेष्ठले एमएनटीभीलाई जानकारी गराउनुभयो । उहाँले अष्ट्रेलियाबाट नेपालले व्यवसायिक शिक्षामा धेरै सिक्नसक्ने भन्दै भ्रमण उपलब्धीमूलक हुने आशा व्यक्त गर्नुभयो । अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या उच्च छ । उच्चशिक्षाका साथै विभिन्न व्यवासयिक शिक्षाका लागि पनि विद्यार्थीहरु यहाँ आउने गरेका छन् । एशियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालित शीप विकास परियोजनाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको प्रभावकारी व्यवस्था तथा निजी तथा सामूदायिक प्रशिक्षण केन्द्रहरुको व्यवस्थापनमा अन्तर्राष्ट्रिय तहमा भइरहेको पद्धतिको अध्ययन गर्न र नेपालमा त्यसको कार्यान्वयनका लागि सम्भाव्यता पहिचान गर्न भ्रमण तय भएको हो । मेलबर्नमा सञ्चालित प्राविधिक शिक्षा र व्यवसायिक तालिमको टोलीले अवलोकन गर्नेछ । यसैगरी सिड्नीमा समेत उच्चस्तरीय भेटघाट र अवलोकन भ्रमण तय भएको छ । यस टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी, शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीभईभीटीका सदस्यसचिव पुष्परमण वाग्ले, शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्याल, अर्थमन्त्रालयका सहसचिव निर्मलहरि अधिकारी, सिटईभीटीका निर्देशक रमेशकुमार बखती, सीप विकास परियोजनाका निर्देशक भुवनेश्वर ढुंगाना, शिक्षा मन्त्रालयका उपसचिव मुकुन्दमणि खनाल र सीप विकास परियोजनाका उपनिर्देशक उमेशकुमार मिश्र सहभागी छन् । बुधबारसम्म मेलबर्नमा विभिन्न भेटघाटमा व्यस्त हुने र बिहीबार सिड्नीमा टेफका पदाधिकारीसँग भेट्ने र कलेजहरुको भ्रमण गर्ने योजना छ । टोली शुक्रबार विहान सिंगापुरहुँदै स्वदेश फर्कने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?