सगरमाथा क्रिकेट क्लबले बालबालिका र महिलाको छुट्टै टीम बनाउने
मेलबर्नको सगरमाथा क्रिकेट क्बलले केही समयभित्रै बालबालिकाहरु र महिलाको छुट्टै टिम बनाउने भएको छ । आईतबार मेलबर्नमा आयोजना गरिएको पहिलो प्रिजेन्टेसन नाईटमा यस्तो जानकारी गराइएको हो । विगत चार वर्षदेखि क्रिकेटको माध्यमबाट नेपाली युवाहरुलाई जोड्दै आएको सगरमाथा क्रिकेट क्बलले उक्त कार्यक्रममा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत समेत गरेका छन् ।
चार वर्षको उत्कृष्ट बलर, फिल्डर, विकेट किपर, व्याट्सम्यान, भ्यालुएवल प्लेयर, प्रोमिसिङ प्लेयर अफ द ईयर, पपुलर प्लेयर अफ द ईयर लगायतका विधामा एवार्ड दिइएको थियो । वार्षिक कार्यक्रमको सफलताका लागि नेपाली क्रिकेटका क्याप्टेन पारस खड्का, सन्दीप लामिछाने, सुवास खकुरेल र आईसीसी अम्पायर बुद्धि प्रधानले शुभकामना दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन हुनुहुन्थ्यो भने नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, क्रिकेट एशोसिएसन अफ नेपालका उपाध्यक्ष नरेश श्रेष्ठ, समूदायका अगुवा जोग लिम्बु, रञ्जन वैद्य, भिक्टोरियन बहुसांस्कृतिक काउन्सिलका हुसेन हनिफ लगायत सहभागी भएका थिए । क्लबका प्रेसिडेन्ट विवेक श्रेष्ठले सहयोग गर्ने प्रायोजकहरु बुद्ध ट्राभल्सका भीम न्यौपाने, भीडीए फाईनान्सका सुरज ऐर र ईके माईग्रेसनका स्पन्दन कार्कीलाई धन्यवाद दिए । कार्यक्रममा एवार्ड वितरणसँगै विविध सांस्कृतिक प्रस्तुति पनि समावेश थियो । जसमा आयुषा तिवारी, सुर्मिला बस्नेत, मनिषा श्रेष्ठ, अनुक्ष महर्जन, सीमा दाहाल, सुप्रिना श्रेष्ठ, ईसेन्ट्रीक्स व्याण्ड, विश्वान्त दाहाल, प्रविन भण्डारी, विमलेश रञ्जित र युवराज सिवाकोटीले आफ्नो प्रस्तुति दिएका थिए । उक्त अवसरमा दिइएको जानकारी अनुसार क्लबमा अहिले ५० खेलाडी आबद्ध छन् । चार वर्षअघि ५ जनाको प्रयासबाट क्लबको स्थापना भएको थियो । उक्त अवसरमा संस्थापकहरुलाई सम्मान पनि गरिएको थियो । चार वर्षअघि सञ्जय कँडेल, भूषण श्रेष्ठ, सहस श्रेष्ठ, नवीन श्रेष्ठ र सुमित दाहालको अग्रसरतामा सगरमाथा क्रिकेट क्लबको स्थापना गरिएको थियो । कार्यक्रमको हरेक टिकटबाट नेपालमा हालै गएको बाढी पीडितका लागि ५ डलर सहयोग गर्ने लक्ष्य लिएको क्लबले संकलित रकम गैरआवासीय नेपाली संघमार्फत नेपाल पठाउनेछ ।