तीन दलका शीर्ष नेताहरुको बैठक, सहमतिका लागि अझै छलफलमा बस्ने सहमति, साँझ बालुवाटारमा बैठक
केही दिनदेखि प्रमुख दलहरूबीच देखिएको आशङ्का मेट्न प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज भएको बैठकले सहमतिका लागि पुनः छलफलमा बस्ने सहमति गरेको छ । संविधानका विवादित अन्तर्वस्तुमा छलफलका क्रममा दुई ध्रुवमा बाँडिएका सत्तापक्ष नेपाली काँग्रेस तथा नेकपा (एमाले) र प्रमुख प्रतिपक्ष एकीकृत नेकपा (माओवादी)का नेताहरू पुनः सहमतिको प्रयास गर्न सहमत भएका छन् । काँग्रेस र एमालेलगायतका दलले केही दिनअघि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको सात प्रदेशसहितको प्रस्तावले बढेको धु्रवीकरण हटाउन भन्दै बैठकमा बसेका शीर्ष नेताहरू साँझ फेरि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न सहमत भएका हुन् । संविधानसभा अध्यक्ष सुवास नेम्बाङको पहलमा उहाँको कार्यकक्षमा बसेको बैठकमा कुनै ठोस सहमति नभए पनि नेताहरूले राजनीतिक गतिरोध अन्त्य गर्न छलफल गर्ने सहमति भएको बताएका छन् । प्रमुख दलबीच देखिएको ध्रुवीकरणलाई मत्थर पार्ने सम्बन्धमा खुलेर कुरा भएको र बैठक पुनः बेलुका बस्ने सहमति भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । बैठकमा सार्वजनिक रूपमा ध्र्रुवीकरण बढाउने खालका अभिव्यक्ति दिँदा सहमतिको वातावरण बिग्रन सक्ने विषयमा समेत छलफल भएको थियो ।