सर्वाधिक नगद राशीको एम्बेसडर कप २०१७ को उपाधि मेलबर्नको युनाईटेड एफसीलाई
एस स्टडी अष्ट्रेलिया एम्बेसडर कप २०१७ को उपाधि मेलबर्नको फुटबल टिम युनाईटेड एफसीले जितेको छ । सेभेन ए साईड अन्तर राज्य फुटबल च्याम्पियनशीपको उपाधिसँगै युनाईटेड फुटबल क्लबले ५ हजार डलर पनि जितेको छ । अष्ट्रेलियामा सञ्चालित फुटबल प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी पुरस्कार राशीको यो प्रतियोगितामा अष्ट्रेलियाभरिबाट २० टिमले सहभागिता जनाएका थिए । फाईनलमा पुगेको मेलबर्नको युनाईटेड एफसी र सिड्नीको डाँफे फुटबल क्लबबीचको रोचक भिडन्तमा युनाईटेडले शून्यका विरुद्ध दुई गोलले उपाधि आफ्नो कब्जामा ल्याउन सफल भएको हो । युनाईटेडलाई उपाधि दिलाउनका लागि निरोज पाण्डे र साजन थापामगरले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच साजन थापामगर घोषित भए । यसैबीच, उपाधिसहित मेलबर्न फर्किएको टोलीलाई मेलबर्नमा क्लबका पदाधिकारी र समूदायका अगुवाहरुले स्वागत गरेका छन् । एमएनटीभीसँग कुरा गर्दै क्लबका उपाध्यक्ष राजु शाक्यले उपाधि मेलबर्न ल्याउँदा आफुहरु अत्यन्तै उत्साही बनेको बताएका छन् । उनले भने, “प्रतियोगिता दुई दिनसम्म चलेको थियो । त्यसभन्दा पनि बढी १० घण्टाको यात्रापछि पुगेका हाम्रा खेलाडीले राम्रो खेल प्रदर्शन गरे । यो हाम्रो लागि उत्साहको कुरा हो र मेलबर्नको लागि गौरवकै विषय हो । मेलबर्नको फुटबल टिमले अष्ट्रेलियामै राम्रो खेल्छन् भन्ने छवि बनाएका छन् र युनाईटेड एफसीले यो कुरा पुनः प्रमाणित गरेको छ ।”
फुटबल अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुमाझ निकै नै लोकप्रिय खेल हो । अष्ट्रेलियाभरिमा दुई दर्जनभन्दा बढी फुटबल क्लबहरु सक्रिय रहेका छन् । यहाँका स्थानीय क्लबहरुले नेपालका पूर्वराष्ट्रिय खेलाडीहरुलाई समेत समावेश गरेर टिम निर्माण गरेका छन् भने व्यवसायीहरुले पनि खेलको माध्यमबाट युवा वर्गलाई एकताबद्ध बनाउने यो अभियानमा साथ दिँदै आएका छन् । मेलबर्नको युनाईटेड फुटबल क्लबको पार्टनर एईसीसी ग्लोबल रहेको छ भने बुद्ध ट्राभल एण्ड टुर्स, बायर्स च्वाईस र व्याप्स रेष्टुरेन्टले प्रायोजन गर्दै आएको छ ।