अष्ट्रेलियाको मूल क्रिकेटमा प्रवेश गर्ने नेपाली खेलाडीलाई अवसर
मेलबर्न रेनेगेट्सको आयोजनामा हुन लागेको च्याम्पियन्स लिगमा नेपाली खेलाडीहरुले पनि सहभागी हुने अवसर पाउने भएका छन् । दोश्रो पटक यस्तो अवसर आउन लागेको र यसका लागि आगामी १६ तारिखभित्रमा दर्ता गर्न आह्वान भएको छ । यस पटक कन्ट्री अफ ओरिजिन च्याम्पियन्स लिग टी ट्वान्टी प्रतियोगितामा सहभागिताका लागि नेपाली टीम निर्माण गर्न नेपाली खेलाडीहरुलाई आह्वान भएको क्रिकेट अष्ट्रेलियाका कम्युनिटी एम्बेसडर तारा गैरेले एमएनटीभीलाई बताए । अघिल्लो पटक निर्माण गरिएको नेपाली टीमले सेमिफाईनलसम्मको यात्रा तय गरेको थियो । गैरेका अनुसार यस पटक टीम नेपालबाट खेल्नका लागि खेलाडीहरुको दर्ता गर्ने कार्य भइरहेको छ । उनी भन्छन्, “२९ अक्टोबरमा ट्रायल हुनेछ । यसबाट छानिएर १५ खेलाडीको टीम नेपाल बन्नेछ । यो टिमले आफ्नो समूहको ६ वटा टीमसँग प्रतिस्पर्धा गर्नेछ र अन्तिम दुई टीम च्याम्पियन्स लिगमा प्रवेश गर्नेछन् । अन्य स्टेटहरुबाट पनि यसैगरी सेलेक्सन भइरहेको छ । मेलबर्नमा रहेका युवा नेपाली क्रिकेटरहरुको लागि यो राम्रो अवसर हो ।” मेलबर्न रेनेगेड्समा स्थानीय क्लबहरुसँग समेत खेल्ने भएका कारण खेलाडीहरुले राम्रो एक्सपोजर पाउनेछन् । दक्षिण एशियाबाट नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको आफ्नै टीम हुनेछ । स्मरणीय छ, मेलबर्नमा नेपाली समूदायमा क्रिकेटको विकास गर्नका लागि केही समय अघि क्रिकेट अष्ट्रेलियो तारा गैरे, अनिता सापकोटा र सुनम गौतमलाई कम्युनिटी एम्बेसडर तोकेको थियो ।
तपाईं ईच्छुक हुनुहुन्छ ? यो पोष्टर हेर्नुहोस् र लिंकलाई फलो गरेर तपाईंले आफुलाई दर्ता गराउन सक्नुहुनेछ ।