एकातिर रक्तदान अर्कोतिर हानाहान, एनआरएनको सम्मेलनमा के हुँदैछ ?
– राजेश थापा/काठमाडौं
गैरआवासीय नेपाली संघको विश्व सम्मेलन यतिबेला काठमाडौंमा जारी छ । सम्मेलनले विभिन्न महत्वपूर्ण कार्यपत्रहरुमाथि छलफल मात्र गरिरहेको छैन नयाँ नेतृत्व चयन र भिजन २०२० लाई कार्यान्वयनका सन्दर्भमा गरमागरम बहसमा पनि ल्याएको छ । विश्वभरि रहेका नेपालीहरुको साझा संस्था एनआरएनको विश्व सम्मेलन नीति निर्माणको थलो हो नेतृत्व चयनको सर्वोच्च निकाय पनि हो । तर, यहाँ देखिने दृश्यहरु भने अलि भिन्दै छन् । करिब २६ सय सहभागी हुने अनुमान गरिएपनि सहभागिताको हिसाबले यो दुई हजारको हाराहाीमा पनि पुग्ने जस्तो देखिँदैन । तर, व्यवस्थापन हेर्दा भने ती सबै आइदिएको भए झन् अर्को के तमासा हुन्थ्यो भन्नेझैं लाग्छ ।
काठमाडौंको हयात होटल यतिबेला एनआरएनमय बनेको छ । विभिन्न देशबाट आएका प्रतिनिधिहरु होटलमा पुग्नेवित्तिकै पहिलो काम नै आफ्नो नाम मतदाता सूचि अनुसार अपडेट गर्ने र परिचय पत्र लिने क्रममा हुन्छन् । तर, एकातिर उद्घाटनको रन्को अर्कोतिर व्यवस्थापकीय कमजोरीका बीच सन्तुलन हुन नसक्दा शनिबार धकेला धकेलको दृश्य, आक्रोशको आवाज गुञ्जिन पुग्यो । सामाजिक सञ्जालमा यतिबेला त्यही धकेला धकेलको दृश्य भाईरल बनिरहेको छ । त्यसमाथि घीउ थप्ने काम गर्यो जपानका अनुज थापा पक्राउ प्रकरणले । ७ करोड ठगीको आरोपमा उनी नेपाल प्रहरीको फन्दामा परे । एनआरएनको आईसीसी सदस्य रहेका उनलाई पक्राउ गरपछि एनआरएनका विरोधीहरुले मशला नपाउने कुरै भएन । “विभिन्न कालो कर्तुत गरेर धन कमाउने अनि त्यही धनको तुजुक देखाउन नेपाल आउने एनआरएनको नेता बनेर ।” यस्तै प्रतिक्रियाहरु सामाजिक सञ्जालमा सुनिएको अवस्था छ । लाप्राकमा बनिरहेको भवनमा धेरै कमको चासो रहेको बुझ्न कठिनाई थिएन यसको बारेमा रिपोर्ट प्रस्तुत भइरहँदा हल बारै देखिएको ठूलो जमातबाट । युवाहरुको मुद्दामा के गर्ने, कसरी अगाडि बढ्ने भन्ने कुराको आंकलन गर्न कमैलाई फुर्सद थियो युवा नेतृत्व विकासको कार्यशाला चलिरहँदा । साँच्चै यो चार दिनलाई सहभागितामूलक र उपलब्धीपूर्ण बनाउने हो भने यहाँ आएका प्रतिनिधिहरुले यी कार्यक्रमहरुमा आफ्नो सहभागिता सुनिश्चित गर्नैपर्दछ । अन्यथा अरुले हाम्रो भावना बुझिदिएनन् भनेर कुर्लनुको के अर्थ हुन्छ र ?
सत्य हो, एनआरएन देशमा आएका छन् । उनीहरु विभिन्न क्षेत्रमा लगानी पनि गरिरहेका छन् । रोजगारी सिर्जना गर्नका लागि महत्वपूर्ण योगदान उनीहरुको पनि छ । अन्य विविध सामाजिक कामहरुमा उनीहरु मन फुकाएर सहयोग गर्दछन् । सम्मेलन स्थलमै पनि एकातिर रक्तदान चलिरहेको थियो । धेरैले रक्तदान गरेरै भएपनि आफ्नो भावनाको प्रतिनिधित्व गरे, गराए । तर, एकातिर रक्तदान भइरहँदा अर्कोतर्फ हानाहान गर्ने पनि त एनआरएन नै थिए । एकातिर सम्मेलनमा नीतिगत बहस चलिरहँदा अर्कोतर्फ अर्कोतर्फ विभिन्न रेष्टुरेन्ट, दोहारी र डान्सबारमा झुत्तिएर होलिडे मनाउने पनि त प्रतिनिधिहरु नै थिए । भिजन २०/२० आएको छ भनिन्छ । “अब हामीले निर्वाचनको प्रक्रियालाई सुधार्नैपर्नै अवस्था छ ।” केही प्रतिनिधिहरुको आवाज सुनियो । उनीहरु भन्दै थिए । यो तवरबाट निर्वाचनको अभ्यास हुँदैगर्दा नेपालमा प्रधानमन्त्रीकै चुनाव भएको झल्को पो देखियो । एनसीसीको चुनावदेखि नै आफ्नो पक्षका मान्छेहरुलाई अधिवेशन प्रतिनिधि बनाउने खेल र हिसाब किताब अनि चुनावका बेला त्यसको प्रयोगले सम्भवत चुनावको गरिमा गिराउँदै लगेको छ । बाहिरी दृश्यहरु र खेल यति देखिएपनि भित्री खेल, राजनीतिक वृत्तसँगको लविंग, पैसाको चलखेल कम छैन एनआरएनमा । दलका नेताहरुको सक्रियता, उनीहरुकोमा गणेश परिक्रमा गर्ने संस्कारले एनआरउनलाई विकृत बनाइरहेको छ । अब मुख्य तमाशा त देखिन बाँकी नै छ । प्यानल नै बनाएर यो काँग्रेसको उम्मेद्वार, ऊ एमालेको, अर्को माोवादीको भन्दै अघि आउने दृश्य पनि हेर्न बाँकी नै छ । एउटा गम्भीर आत्मसमिक्षा एनआरएनहरुले नगर्ने हो भने र निर्वाचन प्रक्रियामा आमूल परिवर्तन नगर्ने हो भने एकातिर रक्तदान र अर्कोतर्फ हानाहानको यो श्रृंखला घट्ने होइन बढ्ने नै संकेत छ ।