काँग्रेस र एमालेले राजनीतिक र संवैधानिक गल्ती गरेको प्रचण्डको ठहर, नसच्याए राज्य सञ्चालनको अधिकार गुमाउने
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा (एमाले)ले राजनीतिक र संवैधानिक गल्ती सच्याएन भने राज्य सञ्चालनको अधिकार सिधै मधेसी जनतामा जाने बताउनुभएको छ । बाइस दलीय मोर्चाले जनकपुरमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली जनतासँग गरेको विश्वासघात काँग्रेस एमालेलाई महँगो पर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “अन्तरिम संविधानको मूल मर्म तोड्ने नेपाली काँग्रेस र एमालेलाई सरकारलाई बस्ने अधिकार छैन ।” अध्यक्ष दाहालले आफ्नो पार्टीले बहिष्कृत समुदायको हक अधिकारका लागि जनयुद्ध लडेको स्मरण गर्दै उनीहरूले अधिकार नपाएसम्म आफू कुनैपनि हालतमा पछि नहट्ने दृढता व्यक्त गर्नुभयो । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सहमतिद्वारा संविधान ल्याइनुपर्ने भन्दै बहुमतीय आधारमा संविधान ल्याउने कुचेष्ट गरे मुलुक नयाँ द्वन्द्वमा फस्ने बताउनुभयो । उहाँले मधेस र मधेसीको आफ्नै पहिचान रहेको कारणले पहिचानसहितको संविधान र सङ्घीयतामा जोड दिनुभयो । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिलेको सङ्घर्ष यथास्थितिवादी र परिवर्तनवादीबीचको रहेको बताउनुभयो । उहाँले मधेसी जनताले आफ्नो साधन स्रोतमा आफ्नो अधिकार स्थापित होस् भन्ने चाहेको छ भन्नुभयो । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रादेशिक स्वायत्तता बिनाको संविधान बनाए मधेसी जनताले त्यसलाई कुनैपनि हालतमा नमान्ने बताउनुभयो । उहाँले त्यस्तो संविधान ल्याए मधेसी जनताले जनकपुरको बाह्रबिगाहमै बसेर आफ्नो संविधान आफैँ लेख्ने चेतावनी दिनुभयो । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस एमालेले दुईतिहाइको बलमा संविधान बनाउन खोजेको भन्दै मधेसी जनताका लागि मान्य नहुने बताउनुभयो । जनसभा फोरम नेपालका केन्द्रीय सदस्य हरिनारायण यादवको अध्यक्षतामा भएको थियो ।