सार्क सम्मेलन व्यवस्थित गर्न र सुरक्षाका निम्ति समिति गठन, जिम्मा सेनाले लियो
आसन्न दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को १८ औँ सम्मेलन सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन भएका छन् । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको संयोजकत्वमा ‘सुरक्षा परिवहन तथा यातायात व्यवस्था समिति’ र नेपाली सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डेको संयोजकत्वमा ‘सुरक्षा परिवहन तथा यातायात नियन्त्रण समन्वय समिति’ गठन भई सोअन्तर्गत सुरक्षा परिवहन तथा यातायात व्यवस्था अनुगमन तथा समन्वय उपसमिति, अति विशिष्ट व्यक्ति सुरक्षा उपसमिति, विमानस्थल, वायुयान, भिभिआइपी लाउन्ज आगमन तथा प्रस्थान कार्यक्रम तथा ब्यागेज सुरक्षा उपसमिति गठन भएको छ । त्यस्तै ट्राफिक व्यवस्था उपसमिति, खतरा मूल्याङ्कन उपसमिति, सम्पर्क तथा बन्दोवस्ती व्यवस्थापन उपसमिति, सुरक्षा पास तथा मिडिया व्यवस्थापन उपसमिति, मेडिकल कभर समन्वय तथा सुरक्षा उपसमिति, प्रथम महिलाको कार्यक्रम उपसमिति तथा यातायात व्यवस्था उपसमिति गठन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त उपसमितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत गृह, परराष्ट्र, सञ्चार, स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको समेत उपस्थितिमा संयुक्त सुरक्षा तथा बन्दोबस्ती कार्ययोजना तयारीको क्रममा रहेको र उक्त उपसमितिहरूले आ–आप्mनो जिम्मेवारीअनुसारका स्थान विशेषको सुरक्षा सुदृढीकरणको लागि स्थान विशेषमा रेकीसमेत गर्नुका साथै समिति उपसमितिबीच समन्वय गर्ने कार्यसमेत भइरहेको छ । हालसम्म विभिन्न उपसमितिबाट विमानस्थल, आवासस्थल, रिट्रिटस्थल, सवारी मार्ग र अतिरिक्त कार्यक्रमस्थलको रेकी तथा समन्वय गर्ने कार्य भइसकेको छ । त्यसैगरी आवासस्थल, रिट्रिटस्थल र समारोहस्थलको कार्ययोजना तयार भइसकेको र सम्मेलनको सुरक्षा योजना तयारी अवस्थामा रहेको निर्देशनालयले जनाएको छ ।