काठमाडौंमा पर्वतीय विकासका लागि परिवर्तित अनुकूलनका बारेमा अन्तर्राष्ट्रिय सम्मेलन


isimodeविज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र एकीकृत पर्वतीय विकास का लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) संयुक्त आयोजनामा पर्वतीय क्षेत्रका बासिन्दा र परिवर्तित अनुकूलनका बारेमा काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोबिन्दराज पोखरेलले नेपाललगायत हिन्दूकुश हिमालय क्षेत्रमा अवस्थित मुलुकमा प्राकृतिक स्रोत साधनको अपार सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रका कतिपय मुलुकहरू अतिगरिबीको अवस्थामा रहेकाले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न अपरिहार्य रहेकामा जोड दिनुभयो । उहाँले यस अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्न विश्वका ज्ञान र अनुभवको आदानप्रदान गर्नुका साथै एकजुट गराउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा इसिमोडका निर्देशक एकलव्य शर्माले हिन्दूकुश हिमालय क्षेत्रमा अवस्थित मुलुकमा अधिकांश मानिसको जीवन गासिएको र प्राकृतिक तथा सांस्कृतिक सम्पदा रहेकाले त्यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले सम्मेलनले नेपालजस्ता ८० प्रतिशत क्षेत्र पहाड भएका मुलुकका लागि अन्तर्राष्ट्रिस्तरमा आवाज उठाउने मञ्चका रूपमा काम गर्ने बताउनुभयो । सम्मेलनमा इसिमोडका कार्यकारी निर्देशक डेभिड मोल्डेनले जलवायु परिवर्तनले कारण हिमालय क्षेत्र र यस क्षेत्रका बासिन्दाको जनजीवनमा परेको असरबारे चर्चा गर्नुभएको थियो । आगामी डिसेम्बर पहिलो सातादेखि पेरुको लिमामा हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकको २०आँै सम्मेलनको पूर्वसन्ध्यामा पर्वतीय क्षेत्रको मुद्दा र हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलगायतलाई सशक्त बनाउन सम्मेलन गर्न लागिएको इसिमोडले जनाएको छ । सम्मेलनमा विभिन्न २५ देशका नीति निर्माता, अनुसन्धानकर्ता, विशेषज्ञ, राजनीतिज्ञ, सम्बन्धित क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायत २५० बढीको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?